धनकुटा, ८ मंसिर : धनकुटाको हिले–कुवापानी सडक मर्मतमा ढिलाइ भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । काम थालेको तीन वर्ष वितिसक्दा पनि ५ सय मिटर सडक मर्मतको काम पूरा नगरिएको भन्दै स्थानीयवासीले सडक डिभिजन कार्यालय धनकुटामा धर्ना दिएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडक डिभिजन कार्यालयमा धर्ना दिएर चाडै सडक निर्माण सक्न दवाव दिएका हुन् । हिलेका स्थानीय लाक्पा तामाङको अगुवाइमा करिब दुई दर्जनको संख्यामा आएका स्थानीयवासीहरु प्लेकार्ड बोकेर कार्यालयमा धर्ना बसेका थिए । उनीहरुले ‘ठेकेदारलाई कारबाही गर, ठेकेदार कि ठगदार, भ्रष्टाचार अन्त्य गर, लुटतन्त्र मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।
विराटनगरको शशिधर निर्माण सेवाले ६५ लाखमा सडक मर्मतको जिम्मा लिएको हो । ठेकेदार कम्पनीलाई पटक पटक म्याद थप्दा पनि लापरबाही गरेर काम नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हिलेका स्थानीय लाक्पा तामाङ बताउँछन् । सम्झौता अनुसार काम नगरे थप आन्दोलन चर्काउँने स्थानीयवासीले चेतावनी पनि दिएका छन् ।
View : 222
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved