विशेष केन्द्रीय महाधिवेशन :
विराटनगर । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व परिवर्तनको स्पष्ट सन्देशसहित निर्णायक मोडतिर अघि बढेको छ ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रका क्रममा सभापति शेरबहादुर देउवाले पार्टी फुटबाट जोगाउने भन्दै गरेका केही पहलको राजनीतिक सार्थकता समेत अन्योलग्रस्त बनेको छ ।
महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नेगरी विशेष महाधिवेशन कार्यविधि बन्दसत्रले पारित गरिसकेको छ । यस्तो अवस्थामा महाधिवेशन निर्णायक मोडमा पुगेको कार्यकर्ताहरूले बताएका छन् ।
महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले मंगलबार साँझ पत्रकार सम्मेलनका क्रममा जस्ताको तस्तै फर्किने गरी आफूहरू नफर्किने महाधिवेशन प्रतिनिधिहरूबाट दवाव आइरहेको बताए ।
उनले दुई महामन्त्रीको प्रतिवेदनलाई मंगलबारको बन्दसत्र हलले सर्वसम्मत पारित गर्ने बताए । त्यसलगत्तै निर्वाचनको प्रक्रिया सुरु हुने दाबी गरेका छन् ।
‘भोलि निर्वाचन समिति भंग गरेर नयाँ समिति गठन हुनेछ, त्यसपछि नीतिमा परिवर्तन र नेतृत्वको निर्णय अघि बढाइने छ’ प्रचार संयोजक पोखरेलले भने, ‘महाधिवेशनमा ५१ प्रतिशत मतले जस्तोसुकै निर्णय लिन सक्ने अधिकार राख्ने अवस्थामा उपस्थिति संख्या ६३ प्रतिशत पुगिसकेको छ, अब कुनै पनि कुरा रोकिंदैन ।’
विशेष महाधिवेशन पक्षधरहरू १५ औं नियमित महाधिवेशनसम्मका लागि नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने संकेत पाएपछि पार्टी सभापति शेरबहादुर देउवा भने मध्यमार्गी प्रस्तावका साथ सक्रिय भएका छन् ।
उनले सोमबार दिनभर प्रभावशाली नेता डा शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका पक्षधरहरूलाई रोक्ने प्रयास गर्दै सभापति देउवाले छलफलको बाटो खोल्न सक्रिय रहेको कांग्रेस नेता रामहरि खतिवडाले बताए ।
देउवाले १४औं महाधिवेशनको कार्यसमिति नै भंग गर्ने प्रस्ताव अघि बढे संस्थापन पक्ष राजनीतिक रुपमा असफल हुने निश्कर्षका साथ त्यो परिस्थितिलाई अन्त्य गर्ने योजनाको खोजीमा महामन्त्रीद्वयसँग छलफलको प्रयासमा छन् ।
देउवाले आफ्नै निवासमा विभिन्न नेता र महामन्त्रीहरूसँग छलफल गर्दै पार्टीलाई फुटबाट जोगाउने उपाय खोजिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
‘विशेष महाधिवेशन पक्षधरहरूले भृकुटीमण्डपमा कार्यक्रम अघि बढाएपछि सभापतिज्यूले लचकतापूर्वक संवादको माध्यमबाट पार्टी एकता कायम गर्ने तयारी गरिरहनु भएको छ’ विश्वकर्माले भने, ‘पार्टीका मध्यमार्गी नेताहरूले समेत देउवालाई पार्टी विभाजनबाट जोगाउन सुझाव दिइरहेका कारण प्रयासले सफलता प्राप्त गर्ने विश्वास लिइएको छ ।’
विशेष महाधिवेशन पक्षधरहरूले मंगलबारको बन्दसत्रमा नेतृत्व चयनका साथै नीतिसम्बन्धी विषयमा निर्णय लिने संस्थापनको बुझाइ रहेको छ ।
बन्द सत्रमा सात प्रदेश, उपत्यका, भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका ९ वटा समूहले छलफल सकेको विशेष महाधिवेशनका प्रचार संयोजक पोखरेलले बताए । उनले हालसम्म ६६ प्रतिशतभन्दा बढी प्रतिनिधि उपस्थित रहेको दाबी गरे ।
गगन र विश्वप्रकाशले पनि नेतृत्व चयनमा अग्रसर भएर महाधिवेशनलाई पूर्णता दिनुपर्ने आम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको आवाज रहेको बताए ।
नेपाली कांग्रेसभित्र देखिएका विशेष महाधिवेशन पक्षधर छिटो नेतृत्व परिवर्तनका लागि आतुर छन् भने देउवाले अघि सारेका मध्यमार्गी समूह भने नेतृत्व परिवर्तन भए पार्टी विभाजन निश्चित भएको ठहरसहित संवाद र लचकताको माध्यमबाट पार्टी एकता कायम राख्ने पक्षमा देखिएका छन् ।
मध्यमार्गी पक्षले आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीलाई मुख्य हतियार बनाएर विशेष महाधिवेशन पक्षधरलाई दवाव दिंदै आएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्र हलभित्रको समूह छलफलमा भने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँट, समानुपातिक सूचीमा सन्तुलन र भावी प्रधानमन्त्री उम्मेदवारको तयारी जस्ता विषयका लागि नेतृत्व परिवर्तनको स्पष्ट दृष्य तयार भएको जनाइएको छ ।
यसले कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दालाई केवल पदको विषय मात्रै नभई आगामी चुनावी रणनीतिसम्म र पार्टीको संगठनात्मक संरचनामा हुनसक्ने व्यापक हेरफेरतर्फ केन्द्रित रहेको संस्थापन पक्षको बुझाइ छ ।
सभापति देउवाले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर्ने र १५ औं महाधिवेशनलाई चुनाव पछि नै धकेल्ने आग्रह गर्दै महामन्त्रीद्वयसँग आग्रह गरी सोमबार राति छलफलको तयारी अघि बढाएको जनाइएको छ । साथै, उनले उम्मेदवारको मनोनयनपत्रमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्ने विषयमा समेत महामन्त्रीद्वयको सहमति खोज्ने तयारी गरिरहेको निकट नेताहरूले बताएका छन् ।
पार्टीभित्रको संवाद र लचकताका लागि भन्दै देउवा निकट रहेका डा. शेखर कोइराला, डा. शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र श्याम घिमिरे लगायतका नेताहरू परिचालन भएका छन् ।
‘दुवै पक्षको जीत सुनिश्चित हुनेगरी छलफल चलिरहेका छन्’ घिमिरेले भने, ‘हामी विश्वास गर्छौं कि विशेष महाधिवेशन पक्षधर पनि नियमित महाधिवेशनमा सहमत हुनेछन् ।’
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समेत प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेपछि २०८३ वैशाखमा हुने १५औं महाधिवेशनबाट मात्रै पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्वको सहज रूपान्तरण सम्भव रहेको भन्दै सोमबार नै अपिल जारी गरेका थिए ।
महामन्त्रीले आह्वान गरेको विशेष महाधिवेशनमा नेतृत्व फेर्ने लगायतको प्रक्रियाको तयारी अघि बढाएपछि खड्काले जननिर्वाचित संस्थाका रुपमा रहेको प्रतिनिधिसभा विघटन भएर लोकतन्त्र र संविधानको भविष्यप्रति सर्वत्र चासो र चिन्ता बढेको भन्दै उनीहरूलाई सम्झाउने प्रयास समेत गरेका थिए ।
तर, विशेष महाधिवेशन पक्षधरले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रियाको पारदर्शिता र नेतृत्व परिवर्तनको अभ्यास सार्वजनिक रुपमै देखिनु पर्नेमा जोड दिंदै आएका छन् ।
राजनीतिक विश्लेषकहरूले भने विशेष महाधिवेशनलाई कांग्रेसको भविष्य र आगामी प्रतिनिधि सभा निर्वाचनमा यसको प्रभावको दृष्टिले महत्वपूर्ण ठानेका छन् ।
उनीहरूले विशेष महाधिवेशनले नेतृत्व परिवर्तनमा सफलता भएमात्रै कांग्रेसभित्र नयाँ शक्ति सन्तुलन कायम हुने बताएका छन् ।
यता, विशेष महाधिवेशनले बन्दसत्रका प्रतिनिधिलाई नयाँ केन्द्रीय समिति चयनको बाटो खोल्ने गरी ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरको उक्त कार्यविधिमा वर्तमान केन्द्रीयको पदावधि सकिएको निष्कर्षसहित केन्द्रीय समितिको विघटन गर्ने र १५औं नियमित महाधिवेशनसम्मलाई नयाँ केन्द्रीय समिति निर्वाचित गर्ने स्पष्ट बाटो खोलेको हो ।
कार्यविधिको बुँदा ५ (घ) मा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधानलाई समावेश गरिएको छ । उक्त बुँदामा २०७८ मंसिर २४ देखि २८ को १४ औं महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ ।
साथै, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्ने र निज अनुपस्थित भएको खण्डमा भने महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र संचालन भएको अवस्थामा बन्दसत्रको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने पनि कार्यविधिमै उल्लेख छ ।
View : 118
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved