Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

संयोजकमा डा. मनोज राउत

जनता माविमा शैक्षिक सुधारका लागि विज्ञ समूह गठन

उद्‌घोष संवाददाता
९ असोज २०८२, बिहिवार

विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरूको सामूहिक प्रयासले महत्वपूर्ण प्रगति हासिल गरेको छ । यसै क्रममा विद्यालयले कक्षा १० को नतिजा सुधार गर्नका लागि विज्ञ समूह गठन गरी पूर्व विद्यार्थी डा. मनोज राउतलाई संयोजकमा चयन गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक  चिन्तामणि रिजाल, पूर्व प्रधानापकहरू, सहायक प्रधानाध्यापक, मावि संयोजक, पूर्व विद्यार्थी संघको वर्तमान टोली र अभिभावक संघका अध्यक्षसहितको एकीकृत पहलले शैक्षिक कार्यमा सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यालयको प्रगति सूचकका रूपमा यस वर्ष कक्षा १० मा ६० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  

जनता नमूना माविले २०८० को एसईईमा शून्य प्रतिशत नतिजा हासिल गरेको थियो भने २०८१ मा  ३१ जनाले एसईई परीक्षा दिएकोमा ३० जना उत्तीर्ण भई ९६ प्रतिशत नतिजा हासिल गरेको छ ।

पूर्व विद्यार्थीले निशुल्क कोचिङ कक्षा लिएकोले यस्तो परिणाम आएको हो । बढी राजनीतिक चलखेलका कारण पढाइ लथालिङ्ग भई अन्य विद्यालयमा गाभ्ने अवस्थामा महानगरपालिका पुगेको अवस्थामा पूर्व विद्यार्थीको प्रयासमा जनता मावि माथि उक्लिने प्रयास गरिरहेको छ ।

शैक्षिक कार्यमा पूर्व विद्यार्थीहरूबाट सक्रिय सहयोग प्राप्त भइरहेको संयोजक डा राउतले बताए । पूर्व विद्यार्थी संघका पदाधिकारी नारायण पराजुलीले असोज महिनाको गणित कोचिङ पढाउने शिक्षकको तलब स्वयम् उपस्थित भई उपलब्ध गराएका छन् ।  यस प्रकारको आर्थिक सहयोगले विद्यालयमा कोचिङ कक्षा सञ्चालन गर्न मद्दत पुगेको छ ।

कक्षा १० को कोचिङलगायत सम्पूर्ण शैक्षिक कार्यमा विज्ञ समूहमार्फत मद्दत पुर्‍याउने उद्देश्यले डा. राउतलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

आफू पढेको विद्यालयको सेवामा जोडिन पाउ“दा डा. राउतले सामाजिक कार्यमा योगदान दिन पाएकोमा गौरवको अनुभूति व्यक्त गरेको छ ।

डा राउत स्नातकोत्तर (डिग्री) क्याम्पस विराटनगरका पूर्व प्रमुख हुन् । विद्यालय परिवारले डा राउत संयोजक रहेको पूर्व विद्यार्थी टोलीको मद्दतले यसपालि पनि उत्कृष्ट नतिजा आउनेमा आशा व्यक्त गरेको छ ।


 

View : 581

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved