विराटनगर । १०२ वर्षीय पिताको निधनपछि पितृशोकमा परेका मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार विनोद ढकाल चुनावी अभियानमा निस्किएका छन् ।
उनले सोमबार १३ दिनको काजकर्म गरेर मंगलबारदेखि मतदातामाझ मत माग्न फर्किएका हुन् ।
ढकालले मंगलबारमात्रै क्षेत्र नम्बर ६ अन्तरगत विराटनगर महानगरपालिकाभित्रका वडा नम्बर ३, ४, ५, ६ र ११ का १७ वटा टोल वस्तीमा चुनावी घरदैलो र कोणसभाहरू गरेका छन् ।
वुवाको कामकाजमा बसेको बेलामा भने ढकालका छोरीहरूले घरदैलोमा सहभागी भएर मतदाताहरूलाई चुनावी प्रतिवद्धता पत्र वितरण गरेका थिए ।
ढकालले फागुन ३ मा आफ्नो चुनावी प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरिसकेका छन् । उनले क्षेत्र नम्बर ६ को पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राख्दै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
उनले मतदातालाई ‘शरीर घरमै भए पनि मन मतदातासँगै छ’ भन्दै भावुक पत्र पठाएर मतदातामाझ आउन नसकेको बाध्यता पनि सुनाएका थिए ।
ढकालले मंगलबार एकैदिन आइतबारे, जामुनगाछी, पुलचोक, चाँदनी चोक, अरुण चोक, स्वागत चोक, नहर चोक, ब्रह्मपुरा, कन्चनबारी, राजवंशी चोक, ढाट, खार्जी, बस्ता टोल, इक्राही, दावाबन्दीलगायत क्षेत्रमा मतदाता भेटघाट र कोणसभा गरेको बताए ।
ढकालका पिता विष्णुप्रसाद ढकालको माघ २९ मा निधन भएको थियो । उनी बुवाको काम सकिएलगत्तै सेतो वस्त्रमा मतदातामाझ सक्रिय भएका छन् ।
सेतो कपडामै चुनावी अभियानमा निस्किएका ढकालले जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
कोचाखालमा आयोजित कार्यक्रममा उनले आफू निरन्तर मतदाताको बीचमै रहेर जनताको माग अनुसार अघि बढ्ने बताए ।
‘४० वर्षदेखि यही भूगोलमा छु, यहींको समस्या बुझेको छु, समाधानका लागि योजना र एजेन्डा पनि तयार पारेको छु’ उनले भने, ‘ढुक्क भएर मत दिनुहोस्, मैले यो क्षेत्रको विकास गर्नुपर्ने सवै योगदान गर्न तयार छु ।’
ढकालले बुधबार भने सुन्दरहरैंचाको वडा नम्बर ४, ५ र ६ का मतदातामाझ मत माग्नका लागि पुग्ने जानकारी दिए । उनले विगतमा एमालेले जित्दा भएका विकास निर्माणका कामलाई उदाहरण दिंदै उनले निरन्तरताको पक्षमा मत मागेको बताए ।
मोरङ–६ मा ढकालको प्रत्यासीका रुपमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय, रास्वपाकी रुविना आचार्यलगायत १७ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved