Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशकै पहिलो ‘कृषि एक्स्पो’ आजदेखि

उद्घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा आज बिहीबारदेखि पहिलो कृषि एक्स्पो सुरू हुँदैछ । स्टल निर्माण पूरा भएको छ । स्टलहरू राखिने सामग्रीहरूले भरिंदैछन् । 

बिहीबार विहान ११ बजे एक्स्पोको उद्घाटन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक्स्पोको उद्घाटन गर्दैछन् ।

किसान र कृषि व्यवसायीहरूले पहिलो एक्स्पोमा आफ्नो सहभागिता उत्साहित रूपमा रहने विश्वास लिएका छन् ।

कृषि एक्स्पोका लागि पाँच वटा ब्लकमा १३० वटा स्टल रहेका छन् । जसमा कृषि तथा पशुपंक्षीसम्बन्धि सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानको उत्पादन प्रदर्शनीमा राखिने छन् ।

मुलुकको आर्थिक विकासको मुख्य स्रोतका रूपमा रहेको कृषि क्षेत्रलाई अघि बढाउन एक्स्पो सफल हुने आयोजक नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतले किसानको व्यापक सहभागीताले कृषि एक्स्पो सफल हुने बताए ।

उनले कृषि एक्स्पोले किसानलाई आकर्षित गर्ने बताए । यो एक्स्पोको आयोजनाका लागि तीनै तहका सरकार, निजी क्षेत्र, दातृ निकाय, किसान र कृषि पेशा व्यवसायसँग सम्वद्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

वर्तमानमा खेतीपाती र कृषि व्यवसायलाई अझ आधुनिक, प्रभावकारी र लाभदायक बनाउने भनेर जान्नको लागि धेरै तरिकाहरू रहेको र त्यसलाई एकै ठाउँमा समेटेर एक्स्पो आयोजना गरिएको हो । कृषि क्षेत्रका सवै कुरा बुझ्न र जान्नका लागि सबैभन्दा भरपर्दो र प्रत्यक्ष आँखाले हेर्न र अनभूत गर्न पाउने भएकोले कृषि एक्स्पो सफल हुने जनाइएको छ । 

कृषि एक्स्पोमा एउटै छानामुनि उत्पादनहरू, सेवाहरू र प्रविधिहरू प्रदर्शन गरिने छ । एक्स्पोले कृषि व्यापारका साथै लगानीका अवसरहरू पहिचान गर्न र अन्वेषण गर्न प्रदेश र देशव्यापी रूपमा ठूलो सञ्जाल निर्माण गर्ने जनाइएको छ । 

साथै बजारकर्ताहरू, सरोकारवालाहरूलाई अर्थपूर्ण सम्बन्ध स्थापित गर्न, बजारमा आफ्नो क्षेत्रको वस्तुको जानकारी प्राप्त गर्न र कृषि क्षेत्रका नयाँ आविष्कार र त्यसको प्रदर्शनी गर्न एक्स्पो सक्षम हुने जनाइएको छ । यसको माध्यमबाट बजार साझेदारी र दीर्घकालीन सफलता प्राप्त हुने महासंघले जनाएको छ । 

एक्स्पोको माध्यमबाट संसारभरमा कोशी प्रदेशको कृषि व्यवसाय र कृषि उत्पादन, सेवाहरू प्रदर्शन गर्नका लागि डिजिटल मार्केटिङको थलो समेत निर्माण हुने जनाइएको छ । एक्स्पो स्थलमै महासंघले अनलाइन प्लेटफर्म पनि स्थापना गरेको जनाइएको छ ।

पहिलो पटक आयोजना गरिएको कृषि एक्स्पोलाई कोशी प्रदेश सरकार र अन्तरगतको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय समितिले प्रवर्द्धनात्मक सहयोग पुर्‍याएका छन् । त्यसका लागि सहज परियोजना र कटहरी गाउँपालिका मुख्य सहयोगी निकायका रूपमा रहेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।

यस कृषि एक्स्पोमा कोशी प्रदेशमा फस्टाउन खोज्ने कुनै पनि कृषि व्यवसाय र व्यवसायीहरूका लागि अवसर समेत सिर्जना गर्ने जनाइएको छ । नेपालका साथै भारतको विहार अन्तरगतको कृषि विभाग र कोलकताबाट अगुवा कृषक, कृषि व्यवसायी र विज्ञहरूको समूहले सहभागिता जनाउँदैछन् । 

कृषि क्षेत्रमा फड्को मार्दै गएको भारतमा प्रयोग भइरहेका र विकास भइरहेका आधुनिक कृषि उपकरणहरू समेत यस पटक कृषि एक्स्पोमा राखिने छन् । घरेलु कृषि औजारदेखि अत्याधुनिक कृषि ड्रोन प्रदर्शनी हुने जनाइएको छ ।

यो एक्स्पोमा प्रवेश गर्न कसैले पनि कुनैपनि प्रकारको टिकट काट्नु नपर्ने जनाइएको छ । एक्स्पोमा विभिन्न जिल्लाबाट कृषि ज्ञान केन्द्रको सिफारिसमा आउने अगुवा किसानहरूलाई निशुल्क खाना र बासको व्यवस्था गरिएको महासंघले जनाएको छ ।

तीनै तहका सरकारहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिंदै कृषकहरूलाई आवश्यक सहयोग पुर्‍याउने जनाइएको छ । एक्स्पो भदौ ३० मा औपचारिक रूपमा समापन हुनेछ ।

कृषि अनुसन्धान निर्देशनालयका चारवटा स्टल

नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगतको कृषि एक्स्पो २०८१ मा हाम्रा स्टलहरू आएका छन् । यसमा कृषि अनुसन्धान निर्देशनालय तरहरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरी र कृषि अनुसन्धान केन्द्र जौबारी र सुन्तला जात अनुसन्धान केन्द्रको आफ्नै स्टलहरू रहने जुट अनुसन्धान कार्यक्रमका प्रमुख बरिष्ठ बैज्ञानिक सन्तोषराज त्रिपाठीले जानकारी दिए ।

यसरी कृषि अनुसन्धानतर्फका चारवटा कार्यालयहरूले स्टल राखेका छन् । जुट अनुसन्धानले जुट सम्बन्धि जानकारीहरू प्रदान गर्दछ । कृषि अनुसन्धान निर्देशनालयले माछा, न्यानो पानीमा हुने माछा, बंगुर, तरकारी र फलफुल लगायतका बालीको जानकारी दिने जनाइएको छ ।

त्यसका साथै कृषि अनुसन्धानसँग सम्बन्धित भएका नयाँ–नयाँ प्रविधिहरू पनि एक्स्पोमा प्रदर्शनीमा राखिने छन् । स्टलहरूमा कृषि अनुसन्धानतर्फका क्षेत्रको खेती गर्ने तरिका, पशुपालन, माछापालनका तरिका समेत जानकारी गराउने त्रिपाठीले बताए ।

त्यसैगरी त्यसबाट हुने उत्पादन, त्यसको उपयोग लगायतका विषयमा प्रदर्शनीस्थलबाटै जानकारी उनले बताए ।

View : 1799

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved