विराटनगर,२३ मंसिर : गएको ५ भदौमा आफ्नै १४ वर्षीया नातिनीलाई करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्यो । ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्षयता पटक–पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट खुलेको थियो ।
विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुबाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको थियो ।
गएको असारमा इलाममा नै एक बालिकालाई सौतेलो बुबाले बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । १२ वर्षकी उक्त बालिका गर्भवती भएको तीन महिनामा बुबाबाट गर्भवती भएको पुष्टि भयो । घटनापछि सौतेलो बुबा अहिलेसम्म फरार छन् ।
कोशी प्रदेशमा पछिल्लो तीन वर्षमा दर्ता भएका बलात्कारका १ हजार ८५४ मुद्दामध्ये १ हजार २९६ वटा मुद्दा बालिकामाथि करणीका छन् ।
बालिकाकी आमा दोस्रो विवाह गरेको केही समयपछि सुत्केरी भइन् । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौतेनो बुबा गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बसिरहेकी छन् ।
गत भदौ १५ गते मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माइन् भन्ने खबर सार्वजनिक भयो । १६ वर्षीय किशोरको जबरजस्ती करणीबाट उनी गर्भवती भएकी थिइन् । गर्भ ८ महिनाको भएपछि मात्र परिवारले थाहा पाए । ती बालिकाले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ । कोशी प्रदेशमा रहेको दीर्घकालीन पुनर्स्थापना केन्द्रमा मात्रै १७ जना बालिका आश्रयमा बसेका छन् । जसमध्ये ७ जना आमा बनिसकेका छन् जो उनीहरू आफैं बच्चा छन् ।
जबरजस्ती करणीका घटनामा सानै उमेरका बालिकाहरू सिकार हुने गरेको यी माथिका घटनाले देखाउँछ । यतिसम्मकी आफैं बच्चा उमेरका उनीहरू यौनजन्य हिंसाको सिकार हुँदा सानै उमेरमा आमा बन्न बाध्य समेत हुने गरेको छन् ।
कोशी प्रदेश प्रहरीको तथ्यांकले पनि पछिल्लो समय १८ वर्षमुनिका बालिकामाथि हुने यौनजन्य हिंसाका घटना बढेको देखिएको छ । प्रदेशमा पछिल्लो तीन वर्षमा दर्ता भएका बलात्कारका १ हजार ८ सय ५४ मुद्दामध्ये १ हजार २ सय ९६ वटा मुद्दा बालिकामाथि करणीका छन् ।
आर्थिक वर्ष २०७७/७८ देखि ७९/८० र २०८०/८१ को कात्तिक मसान्तसम्मको अवधिमा दर्ता भएको करणी उद्योगका ४ सय ६८ मुद्दामा २ सय ६९ वटा बालिकामाथि भएका छन् ।
प्रहरीको यो तथ्यांकले बालिकामाथि यौनजन्य हिंसाको जोखिम उच्च रहेको देखाएको छ । यस्ता घटनामा पीडकहरू नजिकका आफन्त, परिवारका सदस्य नातागोता र आफ्नै साथीभाइ हुने गरेको प्रहरीको भनाइ छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता सुनिल दाहाल धेरै जसो घटनामा उमेर नपुगेका बालिकाहरू बलात्कारका घटनामा पीडित बनेको पाइएको बताउँछन् ।
‘सानो उमेरका भएकाले प्रतिकार गर्न नसक्ने अवस्थाका कारण उनीहरू यौनहिंसामा परेका देखिन्छ’ सहप्रवक्ता दाहाल भन्छन्, ‘यस्ता घटनामा नातागोता, आफन्त र विश्वास गरेको मानिसहरूको बढी संलग्नता देखिन्छ ।’
पीडकहरूले बालिकाहरूलार्ई फकाइ, डर धम्की वा आफ्नै साथीहरूले विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने गरेको र पछिसम्म घटना सार्वजनिक नहुँदा उनीहरू आमा बन्ने गरेको अवस्था समेत भएको सहप्रवक्ता दाहालले बताए । बलात्कार वा यौनजन्य दुर्व्यबहारका घटनामा बालिकाहरू नै बढी प्रभावित भइरहेको चालु आर्थिक वर्षको तथ्यांकले पनि देखाएको छ ।
संसारभरि अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो वर्ष अभियानको नारा ‘महिला र बालिकामाथिको हिंसा नियन्त्रणका लागि बालिकामा एकीकृत लगानी गरौँ’ भन्ने छ ।
नारामा उल्लेख गरेअनुसारको लगानी साँच्चिकै बालिकामा गर्ने हो भने बालिकामाथि हुने हिंसामा कमी आउने आवाज विभिन्न फोरमहरूमा उठ्दै आएको छ । केही दिनअघि विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्चमा समेत प्रहरीमा दर्ता हुने मुद्दा तथा उजुरी दर मात्रै बढेको नभएर हिंसाको स्वरूपमा समेत वृद्धि भएको र यसबाट बालिकाहरू बढी प्रभावित भएको निष्कर्ष निकालिएको महिला मानवअधिकार रक्षक सञ्जाल कोशी प्रदेश संयोजक मञ्जिता उपाध्यायले बताइन् ।
उपाध्यायका अनुसार अहिले बालिकामाथि हुने यौनजन्य हिंसाका घटना समाजमा बढेका छन् ।
समाजमा पहिला पनि घटना हुन्थे तर बाहिर आउँदैन थिए । तर पछिल्लो समयमा सचेतना बढेकोले घटना बाहिर आउने गरे पनि कानुन कार्यान्वयनको अवस्था कमजोर भएकोले प्रभावितहरूले सहजै न्याय पाउन नसकेको उपाध्याय बताउँछिन् । त्यसैले पीडकहरूलाई कानुनबमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउन र न्याय पाउन सहज वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि उपाध्यायको भनाइ छ ।
कोशी प्रदेशमा तीन वर्षको अवधिमा दर्ता भएका ३ हजार ४ सय ७१ वटा लैङ्गिक हिंसाका मुद्दामा ३ हजार ३४९ जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको कोशी प्रदेश प्रहरीका सहप्रवक्ता दाहालले बताए ।
कोशी प्रदेश प्रहरीमा जबरजस्ती करणी उद्योग बाहेक अप्राकृतिक मैथुनका २१ वटा, मानव बेचबिखन तथा ओसारपसारका ५७ वटा, अपहरणका ३७ वटा, बहुविवाहका ३४ वटा, बालविवाहका ४ सय ७९ वटा, बोक्सीको आरोपका ११ वटा, कर्तव्य ज्यानका १ सय ७६ वटा र गर्भपतनका घटनाका २४ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
View : 208
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved