विराटनगर । सरकारले सुकुम्वासी बस्तीहरूमा डोजर आतंक सुरु गरेपछि सुकुम्वासी संगठित गर्ने घोषणा गरेको श्रम संस्कृति पार्टीले आन्दोलनसमेत सुरु गरेको छ । शनिबार सुनसरीको धरानमा हजारौं सुकुम्वासी सडकमा उत्रिएका थिए ।
बालेन शाह नेतृत्वको सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर गरेको ज्यादतीविरूद्ध उनीहरूले प्रदर्शन गरे ।
यो आन्दोलन सुकुम्वासी सम्बद्ध विभिन्न संस्थाहरूको अगुवाइमा भएको थियो । जसलाई मुख्य आड दिने काम भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गरेको थियो । अन्य दलहरूले पनि आन्दोलनमा साथ दिएका थिए ।
धरानको प्रदर्शनपछि आइतबार मोरङको पथरीमा पनि श्रम संस्कृति पार्टीकै नगर समितिले ठूलो सहभागितासहित प्रदर्शन गरेको छ । पथरीमा आयोजित जुलुसले बजार परिक्रमा गर्दै सरकारविरूद्ध चर्का नाराबाजी गरेको थियो ।
‘बालेन सरकार मुर्दावाद, गरिब मार्न पाइँदैन, सुकुम्वासी बस्तीमा डोजर आतंक बन्द गर’ जस्ता नाराबाजीसहित भएको प्रदर्शनमा पथरी शनिश्चरे क्षेत्रका धेरै सुकुम्वासी सहभागी थिए । अन्य दलका कार्यकर्ताहरूको पनि सहभागिता रहेको जुलुसले पथरी बजार क्षेत्रमा प्रदर्शन गरेको हो ।
मोरङको पथरी शनिश्चरे क्षेत्र पनि सुकुम्वासीहरूको ठूलो बसोबास रहेको क्षेत्र हो । हरेक चुनावमा यहा“को सुकुम्वासी समस्या मुख्य चुनावी एजेन्डा बन्दै आएको छ ।
अहिले काठमाडौंसहित देशभरका सुकुम्वासी बस्तीलाई अतिक्रमणका नाममा हटाउने अभियान सुरु भएपछि श्रम संस्कृतिले आन्दोलन थालेको नेताहरूले बताएका छन् ।
‘हामी सुरुदेखि नै बिना विकल्प बस्तीमा डोजर लगाउने कार्यको विरोधमा थियौं,’ श्रम संस्कृतिका महासचिवसमेत रहेका सांसद आरेन राईले भने ‘हामीले सरकारी दमनविरूद्ध निरन्तर आवाज उठाइरहेका छाैं । हाम्रो अध्यक्ष ज्यूले आन्दोलनको आह्वान गरे अनुसार सबैतिर तयारी भइरहेको छ ।’
त्यसो त अन्य दलहरू मौन रहँदा श्रम संस्कृतिले सुकुम्वासी र अव्यवस्थित बसोबासीको मुद्दालाई राष्ट्रिय आन्दोलन बनाउने अभियान थालेको हो ।
कांग्रेस, एमाले, नेकपा लगायतका दलहरू विज्ञप्तिवाजीमा सीमित रहेका बेला श्रम संस्कृतिले सुकुम्वासीका पक्षमा सडकमा आउन मातहतका सबै समितिहरूलाई निर्देशन दिएको छ ।
सरकारले काठमाडौं उपत्यकाका नदी आसपास तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु गरेपछि श्रम संस्कृति पार्टीले देशभरका सुकुम्वासीहरूलाई संगठित गर्ने घोषणा गरेको थियो ।
सोही अनुसार श्रम संस्कृतिले आन्दोलनको आह्वान पनि लगातार गरिरहेको छ ।
पार्टी अध्यक्ष तथा सांसद हर्क साम्पाङले ‘देशैभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सञ्चालन गर्न सबै जिल्ला र पालिका समितिलाई अनुरोध’ गरेका थिए ।
सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहने साम्पाङले धरान जागिसकेको भन्दै देशका अन्य भागले पनि आन्दोलन थाल्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत नै आह्वान गरिरहेका छन् ।
हर्क मात्रै होइन, श्रम संस्कृतिका बहुसंख्यक नेता तथा सांसदहरूले सुकुम्वासी बस्ती भत्काउनु अघि र पछि पनि सरकारको कदमको खबरदारी गर्दै आएका छन् ।
सुकुम्वासी बस्तीमा डोजर लाग्न सुरु भएपछि हर्क साम्पाङले पहिलोपटक सामाजिक सञ्जालमार्फत सरकारलाई बारम्बार प्रश्न गरेका थिए ‘जग्गा सरकारी भए जनता चाहिं कसको हो ?’ पछिल्लो थातबास खोसिएका र खोसिन तयार धेरै सुकुम्वासीले उनको त्यही भनाइ दोहो¥याइरहेका छन् ।
पूर्वमा मात्रै होइन, पश्चिम नेपालका दाङ, बुटवल क्षेत्रमा पनि सुकुम्वासीहरूले सडकमा प्रदर्शन थालेका छन् ।
यही विषयमा सत्तारूढ रास्वपाले आइतबार सचिवालय बैठक आयोजना गरेर व्यवस्थापनको टुङ्गो लगाएर मात्रै बस्ती सार्न सरकारलाई सुझाव दिंदै आउँदो चैतभित्र सुकुम्वासीहरूको व्यवस्थापन कार्य पूरा गर्न भनेको छ ।
View : 182
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved