झापा : नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका-६ का एक युवकको मृत्यु भएको छ ।
कन्काई नगरपालिका–८ बिरिङ पुलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो ।
शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यसैगरी शुक्रबार बिर्तामोड नगरपालिका–२ स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७६० नम्बरको गाडीले पैदलयात्री स्थानीय ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
त्यसैगरी शुक्रबार राति साढे ११ बजे सुनसरीको दुहबी नगरपालिका– ७ स्थित भित्री सडक खण्डमा को ३८ प ५८८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट खोलामा झरी दुर्घटना हुँदा चालक दुहबी–७ का २४ वर्षीय कृष्ण चौधरी र पछाडि सवार २१ वर्षीय निराजन चौधरी घाइते भएका थिए । उपचारका लागि विराट टिचिङ अस्पताल ल्याइएकोमा उपचारका क्रममा निराजन चौधरीको मृत्यु भएको हो ।
View : 262
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved