Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जेनजी आन्दोलनमा विद्यालयले विद्यार्थी पठाएको इटहरीका प्रमुखको आरोप, निजी विद्यालयको आपत्ति

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

सुनसरी । सुनसरीका निजी विद्यालय सञ्चालकहरूले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर आगजनी गर्न उक्साएको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले नगर प्रमुख पौडेलका अभिव्यक्तिहरू कपोकल्पित र आधारहीन भएको दाबी गर्दै त्यसको प्रमाणित गर्न चुनौती दिएका हुन् । 

पौडेलले भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको भन्ने आशयको अभिब्यक्ति दिदै त्यसका लागि निजी विद्यालय सञ्चालकहरूले स्कुलबसमार्फत विद्यार्थी ओसारेर आगो लगाउन उक्साएको सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन् । 

तर विद्यालय सञ्चालकहरूले यस्तो आरोप तथ्यहीन र पूर्वाग्रही भएको बताएका छन् । हिसान सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य सागर भट्टराईले देशव्यापी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्ति पनि स्कुलको पोसाकमै रहेको विद्यार्थी भएको तथ्य नगर प्रमुखले बिर्सिएको आरोप लगाए । 

उनले आन्दोलनलाई इटहरीमा मात्र केन्द्रित गरेर निजी विद्यालयलाई दोषारोपण गर्नु अन्यायपूर्ण र पूर्वाग्रही भएको बताए । 

हिसानका केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेले नगर प्रमुख पौडेलले कपोकल्पित आरोप लगाएर निजी विद्यालय सञ्चालकहरूलाई जबर्जस्ती दोषी करार गर्न खोजेको टिप्पणी गरे । 

उनले सार्वजनिक कार्यक्रमहरूमा पटक–पटक यस्ता आरोप दोहोरिनु दुःखद भएको उल्लेख गर्दै देशव्यापी आन्दोलनलाई इटहरीमा मात्र भएको जस्तो देखाएर लगाइएका आरोप प्रमाणित गर्न नगर प्रमुखलाई चुनौती दिए ।

हिसानका केन्द्रीय सचिव बलराम पन्तले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनप्रति सहानुभूति भए पनि तोडफोड र आगजनीमा आफ्ना विद्यार्थीलाई जान नदिइएको स्पष्ट पारे । उनले विद्यालयको नाम जोडेर गरिएको आरोपले शैक्षिक क्षेत्रलाई बदनाम गर्ने काम भएको बताए ।

नगर प्रमुख पौडेलले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा निजी विद्यालय सञ्चालकहरूमाथि आरोप दोहोर्याउँदै आएपछि पहिलो पटक संगठित रूपमा हिसान सुनसरीले त्यसको खण्डन गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिएको हो । 

निजी विद्यालय सञ्चालकहरूले निराधार आरोप तत्काल बन्द गर्न र जिम्मेवारीपूर्ण अभिव्यक्ति दिन नगर प्रमुख पौडेलसँग आग्रह गरेका छन् ।

View : 177

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved