Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्ट स्कुलका सवै विद्यार्थी उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण

उद्‌घोष संवाददाता
३ जेठ २०८३, आइतवार

विराटनगर । विराटनगरको एभरेष्ट माविका सबै विद्यार्थी उत्कृष्ट जीपीएका साथ माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका छन् । विद्यालयबाट यस बर्ष एसईई परीक्षा दिएका १९३ जना विद्यार्थीहरूमध्ये एकजना ४ जीपीएसहित सवै विद्यार्थी उत्तीर्ण भएका हुन् । 

विद्यालयका अनुसार ३.९५ देखि ४ जीपीए ल्याएर १९ जना उत्तीर्ण भएका छन् । 

३.९१ देखि ३.९२ जीपीए ल्याएर २०, ३.८० देखि ३.८८ जीपीए ल्याएर ५१, ३.७० देखि ३.७९ जीपीए ल्याएर ६३ र ३.६३ देखि ३.६९ जीपीए ल्याएर २३ जना उत्तीर्ण भएको विद्यालयका भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए ।

उनका अनुसार विद्यालयबाट सवैभन्दा कम जीपीए भनेकै ३.२५ माथि रहेको छ । 

३.२५ देखि ३.६० जीपीए ल्याएर १७ जनासहित सतप्रतिशत विद्यार्थी उत्कृष्ण जीपीएका साथ उत्तीर्ण भएको उनले जानकारी दिए । उनले कक्षा ११ र १२ मा पनि एभरेष्ट परिवारसँगै जोडिएर उच्च शिक्षाको बाटो तय गर्न आग्रह गरेका छन् ।

विद्यालयले शनिबार उत्कृष्ट जीपीएका साथ उत्तीर्ण सवै विद्यार्थीहरूलाई एक कार्यक्रमका साथ बधाई ज्ञापन गरेको छ । 

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरेका छन् । उनले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताए । 

विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत, अभिभावकको चासो र शिक्षकहरूको सिकाउने कलाले नै उत्कृष्ट रिजल्ट सम्भव हुने भन्दै उनले एभरेष्टमा सबै क्षेत्रको उत्कृष्ट संगम रहेको प्रमाणित हुने बताए ।

एभरेष्ट फाउण्डेशनका अध्यक्ष एवं कलेजका प्रिन्सिपल टीकाराम पुरीले पछिल्लो एसईई परीक्षामा परीक्षा केन्द्रमै सरकारले असावधानीपूर्वक कपि परीक्षण गराएका कारण आफूहरू मर्कामा परेको गुनासो गरे । 

उनले अहिलेको परीक्षा प्रणालीले विद्यार्थीको वास्तविक क्षमता विकास गर्न र राम्रो नतिजा हासिल गर्न कहिलेकाहीँ अवरोध पुर्याइरहेको बताए । 

एभरेष्टले परीक्षालाई केवल अंक ल्याउने माध्यमका मात्रै नलिई विद्यार्थीको सोच, वातावरण र आत्मविश्वास निर्माणको थलोका रुपमा लिनुपर्नेमा जोड दिए ।

‘हामीले सधैं विद्यार्थीलाई मेहनत गर्न, आफैं सोच्न र आफूले चाहेको कुरा लेख्न प्रेरित गरेका हुन्छौं, त्यसैले परीक्षा प्रणालीबारे अनावश्यक डर वा भ्रम नराखी आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ’ उनले भने, ‘एसईई परीक्षामा केही समस्या देखिएको छ, त्यसको परिणाम कक्षा ११ र १२ मा विद्यार्थीहरू देखिने गरेको छ, यसतर्फ हामी जिम्मेवार र सचेत हुनुपर्छ ।’

उनले कक्षा ११ र १२ को दुई वर्षको प्रि–युनिभर्सिटी तहमा समेत त्यतिकै मेहनत आवश्यक रहेको बताए । 

‘हामीले जीवनको मूल्यांकन केवल जीपीएबाट गर्नु हुँदैन, जीपीए महत्वपूर्ण हो, तर त्यो मात्र पर्याप्त होइन, वास्तविक कुरा भनेको विद्यार्थीले सिकेको ज्ञान, सीप र भविष्यमा उसले दिने परिणाम हो’ उनले भने, ‘राम्रो प्रमाणपत्र भएर पनि यदि व्यवहारमा प्रतिस्पर्धा गर्न सकिएन भने त्यसको खास अर्थ रहँदैन, त्यसैले सिकाइको गुणस्तरमा ध्यान दिनु अत्यन्त आवश्यक छ ।’

पुरीले अक्सफोर्ड विश्वविद्यालयले केवल जीपीए मात्र नहेर्ने बरु समग्र क्षमता र सम्भावनालाई मूल्यांकन गर्ने गरेको स्मरण गराए । 

एभरेस्टले पनि यही मार्गलाई अंगालेर संस्कार, सीप र प्रविधिमा आधारित शिक्षामा जोड दिने गरेको दाबी गरे ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, विद्यालयका विभिन्न तहका इञ्चार्ज, शिक्षक, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

View : 100

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved