Biratnagar, Morang, Nepal
९ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगरमा बल्झियो मानगढ विवाद

विराटनगर–३ एमाले वडा कमिटीका १९ जनाले पदबाट राजीनामा दिएका छन् ।
उद्‌घोष सम्वाददाता
८ माघ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । नेकपा एमाले विराटनगरमा ठूलो विवाद निम्त्याएको मानगढ खानेपानी निर्वाचनको ‘राजनीतिक पराकम्प’ पार्टीभित्र अझै कायमै देखिएको छ । 

पार्टीको ३ नम्बर वडा कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएको घटनाले त्यहाँभित्रको विवाद फेरि सतहमा ल्याइदिएको छ । 

एमाले विराटनगर महानगरभित्र यो विवादको सुरुआत गएको जेठ १५ को खानेपानी निर्वाचनबाट भएको थियो । त्यसबेला खानेपानीमा एमालेबाटै दुईजना अध्यक्षका उम्मेदवार बनेका थिए । रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षको उम्मेदवार बन्दा महानगर कमिटी पनि दुईतिर विभक्त देखिएको थियो ।

त्यसबेला जिल्लाका केही नेताहरूले घिमिरेलाई आधिकारिक उम्मेदवार भनेका थिए भने महानगर अध्यक्ष सागर थापासहितका नेताहरूले पार्टीका ३ नम्बर कमिटीका अध्यक्ष भट्टराईलाई उम्मेदवार बनाएका थिए । 

चुनाव विवादमा पर्यो, मुद्दा अदालत पुग्यो । त्यही चुनावले एमालेभित्र भने ठूलै भूइँचालो ल्यायो । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै मोरङ संगठन कमिटी अध्यक्ष बाबुराम कार्कीले सागर थापा, लालमणि भट्टराईसहितलाई कारबाही गरेका थिए । 

अहिले थापासहितका केही नेतामाथिको कारबाही फुकुवा भइसकेको छ । उनी पार्टी प्रदेश कमिटीको सहरी विकास विभागका सचिव बनेका छन् । तर, त्यो विवादले भने निरन्तरता पाइ नै रहेको छ ।

अधिवेशनबाट निर्वाचित अध्यक्ष थापालाई कारबाही गरेपछि कार्कीसहितका नेताहरूले रोहित कोइरालालाई मनोनित गरेर महानगरमा संगठन कमिटी बनाएका थिए । ३ नम्बर वडा कमिटीका अध्यक्ष भट्टराई कारबाहीमा परेयता वडा नेतृत्वविहीन अवस्थामा थियो । 

कोइराला नेतृत्वको महानगर संगठन कमिटीको पुस २५ मा सम्पन्न पदाधिकारी  बैठकले वडा अधिवेशन आयोजक समिति बनाएको थियो । तर, पार्टीको संगठित सदस्यता नै नभएका व्यक्तिहरूलाई आयोजक कमिटीमा राखिएको, मनोमानी रुपमा कमिटी बनाइएको भन्दै १८ जनाले सामूहिक राजीनामा दिएका छन् । 

‘कसैसँग परामर्श तथा छलफल नगरी विना जानकारी ३ नं वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा संगठित सदस्यता समेत नरहेका, अन्य पार्टीमा रहेका व्यक्तिहरू समेत राखिएको पाइयो जुन अत्यन्तै दुःखद हो’, उनीहरूको राजीनामा पत्रमा भनिएको छ ‘माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको ब्यहोरा अवगत गराउँदै सामूहिक रूपमा राजीनामा पेश गर्दछौँ ।’

वडा अधिवेशन आयोजक समितिकी उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, उषा सिवाकोटीले सामूहिक राजीनामा दिएका हुन् । 

सन्दीप थापा, राम भट्टराई, ब्रम्हकुमारी पराजुली, श्याम पौडेल, सुशील रेग्मी, उमा निरौला, रीता घिमिरे, अप्सरा श्रेष्ठ, तुलसी सुवेदी, कृष्ण रिजाल, स्वीकारजंग बस्नेत र तेजु कटुवालको संगठित सदस्य नै नरहेको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।
यसैगरी महानगर बैठकले महानगर कमिटी सदस्यमा मनोनीत गरेका वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका छन् । 

सापकोटाले लालमणि भट्टराईलाई पार्टीले न्याय नगरेसम्म कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

View : 98

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved