Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

महिला क्रिकेटमा मोरङ र इलाम विजयी

उद्‌घोष सम्वाददाता
२३ फागुन २०८०, बुधवार

विराटनगर । विराटनगरमा तेस्रो संस्करणको इक्विलिटी कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा मोरङ क्रिकेट संघ र विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा प्राविधिक सहयोगमा मंलबारदेखि प्रतियोगिता सुरु भएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै नेफाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान योजनाका साथ त्रिकेट खेलको विकासमा लागेको बताए । उनले घर परिवारलाई विश्वासमा लिएर खेलाडीहरुले खेल क्षमता प्रदर्शन गर्नुपर्ने बताए । नेपाली महिला क्रिकेटको भविष्य उज्जल रहेको समेत दाबी गरे ।

नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेटको विकासका लागि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून संख्यामा हुने गरेकाले त्यसलाई ध्यानमा राखेर राष्ट्रियस्तरमा महिला क्रिकेट खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको बताए ।

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको पहिलो दिनको उद्घाटन खेलमा मोरङ र इलामले जित निकालेका छन् । 

मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५५ को स्कोर खडा गरेको थियो । मोरङका लागि सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन बनाइन् । सप्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् । 

१५६ रनको स्कोर पछ्याएको सप्तरीले १८ दशमलव ४ बलमा ६९ रन जोड्दै अल आउट भयो । सप्तरीका लागि सुस्मिता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान ३–३ विकेट लिइन् । राजवंशी उत्कृष्ट खेलाडी घोषित भइन् ।

दोस्रो खेलमा इलामले सिरहालाई  ५ रनले पराजित गरेको छ । टस जिेतर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४ गुमाई १४६ रनको स्कोर खडा गरेको थियो । इलामको लागि उत्कृष्ट खेलाडी प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् । सिरहाकी अर्चना महतो, अजमेरी खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिइन् ।

१४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाई १४१ रनमा सीमित भयो । सिरहाका लागि मीना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुस्मिता मुखियाले २ विकेट लिंदा जानुका खवासले १ विकेट लिएकी थिइन् ।

फागुन २५ गतेसम्म हुने प्रतियोगितामा मोरङ, इलाम, सप्तरी र सिरहा जिल्लाका महिला क्रिकेट खेलाडीबीच प्रतिष्पर्धा हुने खेल संयोजक विशाल साहले बताए ।

View : 147

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved