Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर भन्सारमा अत्यधिक कडाइ

जोगबनीबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामग्री किनेर फर्किने प्रत्येक उपभोक्तालाई अहिले रानी नाकाका सुरक्षाकर्मीले भटाभट भन्सार तिर्न लगाउन थालेका छन् ।
उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगरको रानी नाकामा सीमावर्ती भारतीय बजार जोगबनीबाट दैनिक उपभोग्य वस्तु खरिद गरेर आएकाको सामान जाँच गर्दै प्रहरी । तस्बिर: ध्रुव भट्टराई

विराटनगर । सधैँजसो किनमेलका लागि आउजाउ गरिरहने क्षेत्रमा बुधबार मोरङ झोराहाटकी सावित्रा चौधरीलाई सशस्त्र प्रहरीले एक्कासी रोकेपछि उनी केहीबेर अलमलमा परिन् । झोला बोकेर सरासरी हिंड्न लागेपछि सशस्त्र प्रहरीले उनलाई रोके । त्यतिमात्रै होइन भन्सार नकटाए सामान जफत गरिने चेतावनीसमेत दिए ।

एक जना महिला सशस्त्र प्रहरीले भन्सार काट्ने ठाउँसम्म पुर्‍याइदिएपछि सावित्राले किनेको सामानहरूको नाम भनिन् । उनले एउटा साडी, दुईवटा गन्जी, दुई किलो धनियाँ, एक प्याकेट पापड र दुई प्याकेट डिटर्जेन्ट पाउडर झोलामा रहेको कर्मचारीलाई सुनाइन् । कर्मचारीले माग गरेको शुल्क १ सय ८५ रुपैयाँ दिएपछि भन्सार तिरेको कागजात उनले पाइन् ।

बाहिर निस्केपछि पुनः सशस्त्र प्रहरीले भन्सार कागजअनुसारको सामान छ, छैन भनेर हेरे । त्यसमा साडी र गन्जीको मात्रै भन्सार तिरेकाले सशस्त्र प्रहरीले धनियाँ, पापड र डिटर्जेन्ट पाउडर लिएर जान नपाउने सावित्रालाई सुनाए । त्यसपछि उनी थप अलमलमा परिन् ।

घाममा केहीबेर उनी उभिइरहेको देखेर अर्का प्रहरीले भन्सार नकाटिएको सामान खरिद गरेको पसलमै फर्काएर घर जान सुझाए । उनले यति थोरै सामग्री लिएर जान दिन सशस्त्र प्रहरीलाई अनेक अनुनयविनय गरिन्, तर सुनुवाइ भएन । त्यसपछि एक व्यक्तिको सहयोगमा उनले पुनः कर्मचारीलाई धनियाँ, पापड र डिटर्जेन्ट पाउडरको भन्सार काटिदिन आग्रह गरिन् ।

ती कर्मचारीले खाद्य सामग्रीको भन्सार काट्न नमिल्ने भएकाले खरिद गरेकै पसलमा फिर्ता गरिदिन सुझाए । सावित्राले किनिसकेको सामान भारतीय पसलेले नफर्काउने भन्दै पुनः सशस्त्र प्रहरीसँग आग्रह गरिन् । तर कुनै सुनुवाइ भएन । 

सुनसरीको बर्जु गाउँपालिकाकी राधा खवासले तीन थान कुर्ता–सुरुवाल जोगबनीबाट किनेर ल्याएकी थिइन् । उनलाई पनि प्रहरीले रोकेर भन्सार कटाउन आग्रह गरे । उनले सुरुमा आफैले लगाउन किनेकाले भन्सार तिर्न मानिनन् । तर भन्सार नतिरे जफत गरिने चेतावनी प्रहरीले दिएपछि अलमलमा परिन् । तीन घण्टा घाममा उभिएपछि उनी भन्सार कटाएर घर फर्किइन् । 

सावित्रा र राधाजस्तै अहिले विराटनगरको रानी भन्सारमा सास्ती व्यहोर्ने धेरै छन् ।  

जोगबनीबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामग्री किनेर फर्किने प्रत्येक उपभोक्तालाई रानी नाकामा सुरक्षाकर्मीले अहिले भटाभट भन्सार तिर्न लगाउन थालेका छन् । 

यसअघि जोगबनीबाट बिना रोकटोक उपभोक्ताले दैनिक उपभोग्य सामग्री खरिद गरेर ल्याउने गरेका थिए । विराटनगर भन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाउने भएकाले यस क्षेत्रका उपभोक्ता सीमावर्ती जोगबनी बजारमा किनमेल गर्न जाने गर्छन् । सस्तोमा किनमेल गर्न काठमाडौं, पोखरासम्मका उपभोक्ता पूर्व आएको समयमा जोगबनी जाने गर्छन् ।

जोगबनीमा प्रतिदिन न्यूनतम ५ करोडको दैनिक उपभोग्य सामग्रीको कारोबार हुने अनुमान छ । जोगबनी बजार लगभग शतप्रतिशत नेपाली उपभोक्ताको भरमा चलेको छ । 

गएको आइतबारदेखि भन्सार कार्यालयले एक सयभन्दा बढी मूल्यको सामग्रीको भन्सार काट्न थालेपछि जोगबनीबाट दैनिक उपभोग्य वस्तु खरिद गरेर ल्याउन अभ्यस्त उपभोक्ता अहिले हैरान छन् । 

खाद्य सामग्रीको क्वारेन्टाइन जाँचका साथै जीएसटी बिल भएपछि मात्रै भन्सार काट्ने व्यवस्था रहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पशुराम  दाहाल बताउँछन् ।

‘क्वारेन्टाइन जाँच बिना खाद्य सामग्रीको भन्सार काटेर पठाइदियौंला, तर त्यो खाएर कोही बिरामी वा कसैको मृत्यु भए त्यसको जिम्मेवारी कसले लिने ?,’ उनले भने, ‘त्यसैले क्वारेन्टाइन जाँचको कागजातबिना खाद्यवस्तुको भन्सार नकाट्न निर्देशन दिएका छौं ।’ विराटनगर महानगरको पहलमा स्थानीय प्रशासनले सहयोग गरेपछि एक सय रुपैयाँभन्दा बढी मूल्यको सामानको भन्सार काट्न सुरु गरिएको दाहालले बताए ।

भारतसँग ६३ किमि सीमा क्षेत्र जोडिएको मोरङका सीमा नाकामध्ये रानी नाकामा मात्रै स्थानीय प्रशासनको सहयोगमा भन्सार कार्यालयले कडाइ गरेको छ ।

दैनिक उपभोग्य वस्तुका नाममा जोगबनी बजारबाट दिनहुँ करोडौं मूल्यका लत्ताकपडा, खाद्यान्न, भाँडाबर्तन, विद्युतीय सामग्रीलगायतका व्यापारिक सामान भन्सार नतिरी भित्रिने गरेकाले विराटनगर बजार सुनसान हुने गरेको छ ।

घरायसी प्रयोजनका लागि भारतीय बजारमा किनमेल गरेको सामानमा सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार शुल्क लगाइनु व्यावहारिक नभएको उपभोक्ताको गुनासो छ ।

View : 4933

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved