गाईघाट । नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा आइतबारदेखि सुरु गरेको छ । ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उदयपुरको बोक्सेस्थित पशुपति प्रसाद गण पिपलटार व्यारेकको आयोजना उदयपुरगढीबाट पदयात्रा सुरु गरेको हो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सेनाले पुस २१ देखि २७ गतेसम्म ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको ९१ किलोमिटर लामो महाभारत क्षेत्रको पदयात्रा सुरु गरेको जनाइएको छ ।
पदयात्राका सहभागीहरूलाई उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगर र नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङले राष्ट्रिय झण्डा हस्तान्तरण गरेका हुन् ।
पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले पदयात्राको माध्यमबाट ऐतिहासिक गढीको संरक्षण र सम्वद्र्धनका लागि स्थानीयस्तरमै जागरुकता फैलिने विश्वास व्यक्त गरे ।
पदयात्राका क्रममा बाटोमा पर्ने गाउँँबस्ती र विद्यालयहरूमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गरिने जनाइएको छ । टोलीले यात्राका क्रममा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चारवटा स्थानीय तह पार गर्नेछ ।
पदयात्रामा स्थानीय पालिकाका अध्यक्षहरू, सेना, होटल तथा पर्यटन व्यवसायीसम्वद्ध संघसंस्था, जिल्ला साइकल संघ र सञ्चारकर्मीहरू समेत सहभागी बनेका छन् ।
View : 81
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved