Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विपद्ले निम्त्याएको कहर

राजमार्ग अझै अवरुद्ध, वैकल्पिक बाटो पनि राति बन्द

उद्‌घोष संवाददाता
२७ असोज २०८२, सोमवार

विराटनगर । अविरल वर्षापछिको भीषण बाढीपहिरोले बिथोलेको कोशी पहाडको जनजीवन अझै सामान्य बन्न सकेको छैन । खासगरी इलाम क्षेत्रको सडकमा भएको अवरोध केही खुले पनि केही ठाउँमा अझै पनि अवरोध जारी नै छ । यसले आवतजावतदेखि अत्यावश्यक सामग्री ढुवानीमै पनि असर पुर्याएको छ । 

खासगरी  मेची राजमार्गको मुख्य खण्ड राजदुवालीमा सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद भएको हुँदा यातायात सम्बन्ध अझै पूर्ण रुपले स्थापित हुन सकेको छैन । 

राजमार्गको जटिल भू–संरचनाका कारण सडक खुलाउने प्रयास जारी रहेपनि तत्काल ठूला सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन । यसैबीच, इलाम जिल्ला प्रशासन कार्यालयले साना सवारी साधनका लागि वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याएको छ ।

इलामको मुख्य मार्ग मेची राजमार्ग अवरुद्ध भएको मिति असोज १८ गते रातिदेखिको हो । अविरल वर्षाले गर्दा राजमार्गको राजदुवालीस्थित माईखोला नजिकको सडक खण्डमा पहिरो र क्षतिका कारण आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार, मेची राजमार्गको राजदुवालीमास्तिर सडक सहज बनाउनका लागि अहिले पनि काम भइरहेको छ । 

सडकको पहिलो र दोस्रो खण्डमा दुईवटा मेसिनले दिनभर र बेलुकीको समयमा समेत निरन्तर काम गरिरहेका छन् । 

‘हामीले मुख्य राजमार्ग खुलाउने हरसम्भव प्रयास गरिरहेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले भने ‘तर राजदुवाली क्षेत्रको भू–संरचना ज्यादै जटिल र संवेदनशील भएकाले तत्काल सडक पूर्ण रूपमा खुलाउन सक्ने अवस्था छैन ।’ 
उनका अनुसार सडकमा मोटरसाइकल र अन्य गाडी चलाउन सकिने अवस्था अझै बनिसकेको छैन । 

ठूला र हेभी उपकरण प्रयोग गरेर पहिरो पन्छाउने र सडकको भत्केको भाग मर्मत गर्ने काममा कठिनाइ भइरहेको छ । राजमार्ग कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउनेछ भन्ने निश्चित हुन सकेको छैन ।

मेची राजमार्ग अवरुद्ध भएपछि यात्रुलाई सहज बनाउने उद्देश्यले प्रशासनले साना सवारी साधनका लागि वैकल्पिक मार्ग सुचारु गरेको छ । 

इलाम बजारबाट फिक्कलसम्म पुग्ने गरी यो सडक  खोलिएको हो । यो नयाँ विकल्पबाट इलामको यातायात सम्बन्ध सिधै गुप्तीमा फिक्कलको पक्की सडकसँग जोडिएको छ । इलामबाट झापा पुग्न चाहने यात्रुहरूका लागि यो मार्ग प्रयोग गर्न सकिने भएको छ ।

इलामको तिल्केनी–बज्रदेवी माई खोला–नामसालिङ–नयाँबजार हुँदै फिक्कल रुटबाट मोटरसाइकल, जीप, पिकअप भ्यान लगायतका साना सवारी साधन सञ्चालन गर्न सकिने इलाम प्रशासनले जनाएको छ । 

व्यवसायी सुमन काफ्लेका अनुसार यो मार्गमा दुई ह्विलर्स गाडीहरू मोटरसाइकल र साना चारपांग्रे्रे सवारी साधन मात्र चल्नेछन् । इलाम–नामसालिङ–शुक्रबारे–गुप्ती–फिक्कल हुँदै झापाका लागि यात्रा गर्न सकिनेछ । यद्यपि, बाटोको बीच भाग अझै कच्ची रहेको व्यवसायी काफ्लेले बताए । 

यही वैकल्पिक सडकमा पर्ने माइजोगमाई वडा नम्बर ४ र इलाम वडा नम्बर ८ बीचको माईखोला पुलछेउको अवरुद्ध भाग मर्मत गरेपछि आइतबारबाट सवारी आउजाउका लागि खुला गरिएको थियो । 

यो वैकल्पिक सडक सञ्चालनमा आएसँगै इलाम जिल्लालाई मात्र नभई पूर्वी  पहाडका अन्य जिल्लाहरू पाँचथर र ताप्लेजुङलाई पनि राहत मिलेको छ ।

यी दुई जिल्ला पनि वैकल्पिक सडकमार्फत झापासँग जोडिएका छन्, जसले गर्दा  अत्यावश्यक वस्तुको ढुवानी र यात्रुलाई केही हदसम्म सहजता प्राप्त हुने विश्वास प्रशासनको छ । 

जिल्ला प्रशासन कार्यालय इलामले वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्दा अपनाउनु पर्ने सावधानीबारे विशेष सूचना जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार, यो वैकल्पिक मार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

जारी सूचना अनुसार, वैकल्पिक मार्गको रुपमा साना सवारी मात्र आवागमन गर्न सकिने इलाम तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँ बजार हुँदै फिक्कलको रुट आइतबार राति १० बजेदेखि सोमबार  बिहान ६ बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ ।

यातायातमा भएको अवरोधले गर्दा विशेषगरी दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सेवाको आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई मुख्य राजमार्ग छिटो खुलाउन दबाब दिइरहेका छन् । ऊर्जासहित भौतिक

मन्त्रालयको जिम्मा लिएका मन्त्री कुलमान घिसिङले इलाममा शनिबार स्थलगत अवलोकन गरेका थिए ।

View : 313

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved