विराटनगर । नेपाल पुस्तक तथा शैक्षिक सामग्री ब्यवसायी महासंघ कोशी प्रदेशले विवाह व्रतवन्ध लगायतका शुभ कार्यमा पुस्तक उत्कृष्ट उपहारको रुपमा हुने दावी गर्दै राम्रो पुस्तकनै उपहार दिनका लागि सबैसँग अनुरोध गरेको छ ।
संघका कोशी प्रदेश अध्यक्ष जीवनप्रसाद नेपालले भर्खरै सम्पन्न बैठकबाट सबै जिल्लाहरुमा यो लागू गर्न अनुरोधसमेत गरेका छन् ।
आफ्नो व्यवसायलाई प्रवद्र्धन मात्र नभएर पठन संस्कृतिको बिकासले वौद्धिक समाजको विकास भई समाजलाई सही दिशातर्फ लैजान मार्ग प्रशस्त पनि हुने भएकाले यो अभियान चलाउनु परेको अध्यक्ष नेपालले बताए ।
वर्तमान परिवेशमा विभिन्न प्रविधि र मोबाइलका कारण पढ्ने पाठकको कमी हुँदै जानुले समाजमा समेत असर परेको पाइन्छ ।
सोही बैठकको निर्देशन अनुसार महासंघका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले चुडाकर्म तथा विवाहमा समेत राम्रो पुस्तक उपहार दिन शुरु गरिसकेको बताए ।
यसैक्रममा उनले हालै मोरङको सुनवर्षी गाउँपालिका–१ केचनाका सुगम खनालको चूडाकर्म (व्रतवन्ध) मा डा बाबुराम तिमल्सेनाद्वारा लिखित पुस्तक ज्ञानपिपासु यात्रा उपहार दिएका थिए ।
यस्तै मोरङ कर्सियाका ब्यवसायी नवराज–विमला पराजुली जोडीलाई २५ औं वैवाहिक वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा पुस्तक उपहार दिएका थिए । उनीहरुलाई अधिकारीले डा तिमल्सेनाको ‘ज्ञानपिपासु यात्रा’ र बलराम पोखरेलको पुस्तक ‘विचारको विस्कुन’ उपहार दिएका हुन् ।
View : 246
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved