Biratnagar, Morang, Nepal
२७ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

ग्रामथानमा आज उपनिर्वाचन, चार प्रवेशविन्दुबाट यातायात बन्द

उद्घोष सम्वाददाता
१६ मंसिर २०८१, आइतवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आज आइतबार उपनिर्वाचन हुँदैछ । यो उपनिर्वाचनबाट १२ मतदान स्थलका २९ मतदान केन्द्रमा २६ हजार ४४ मतदाताले १६ जना उम्मेदवार मध्ये कुनै एकलाई निर्वाचित गराउने छन् । निर्वाचितले बाँकी अढाइ बर्षे कार्यकालको नेतृत्व लिनेछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू हुनेछ । मतदान बेलुका ५ बजे सकिने जनाइएको छ । मतदान सम्पन्न भएपछि तेतरियास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा मतपत्र ल्याएर आइतबार बेलुकैदेखि गणना गर्ने तयारी गरिएको जनाइएको छ ।

ग्रामथानमा १५ वटा राजनीतिक दल र एक स्वतन्त्रसहित १६ उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास खवास, जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् । 

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रशुराम विश्वास थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारू), जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारूले मनोनयन दर्ता गरेका छन् । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी उम्मेदवार  छन् । नमनारायण चौधरी थारूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सबैभन्दा कम उमेर ३५ देखि सवैभन्दा ७३ बर्षसम्मका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ग्रामथानको उपनिर्वाचनमा दुई उम्मेदवार भने गैरथारू समुदायबाट छन् । बाँकी १४ जना उम्मेदवार थारू समुदायबाट  छन् । थारू जातीको बाहुल्य रहेको ग्रामथानमा उम्मेदवारहरूबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको जनाइएको छ ।

मतपरिणाम आफ्नो पक्षमा पार्न अधिकांश दलका केन्द्रीय नेताहरू ग्रामथानमा केन्द्रित भएका थिए । उनीहरू घरदैलोदेखि कोणसभा, आमसभा र चुनावी रणनीति बनाउने कार्य समेत सहभागी बने । उपनिर्वाचनलाई दलहरूले २०८४ मा हुने स्थानीय र आम निर्वाचनको शक्ति अभ्यासका रूपमा लिएका छन् । 

२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदार थारूको २०८१ असार ३ गते निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । 

मतदानलाई शान्तिपूर्ण बनाउन नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको जनाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आवश्यकभन्दा दुई गुणा सुरक्षाकर्मी परिचालन हुने बताए ।

‘मतदान स्थल र मतगणना स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेराको सुरक्षा व्यवस्था  छ’ प्रजिअ भट्टराईले भने, ‘सवैभन्दा भित्रको घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र बाहिर नेपाली सेनाको पेट्रोलिङ हुन्छ, यसपटक दुई गुणा सुरक्षाकर्मी परिचालन हुँदैछन् ।’

मतदान अवधिमा राजमार्ग र बस्तीमा समेत सुरक्षाकर्मीहरूको पेट्रोलिङ रहने प्रजिअ भट्टराईले बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले भने मतदाता संख्या धेरै रहेका चारवटा मतदान स्थललाई संवेदनशील सूचीमा राखेको छ ।

चार प्रवेशविन्दुबाट यातायात बन्द

यसैबीच उपनिर्वाचनको मतदान अवधिभर ग्रामथानमा अत्यावश्यक र अनुमति प्राप्त सवारी साधन बाहेकका कुनै पनि सवारी साधन आवतजावत गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नका चारवटा प्रवेशविन्दुबाट सवारी साधनको आवात जावतमा रोक लगाएको हो ।

जिल्ला प्रशासनले सूचना निकालेर शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नभएसम्म ग्रामथान गाउँपालिकाको सवै स्थान र पालिका छिर्ने विन्दुबाट सवार साधन आवतजावतमा रोक लगाएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार बुढीगंगा गाउँपालिका–७ डंग्राहा, विराटनगर–१९ मिलन चोक, कटहरी गाउँपालिका–७ भौडाहा र सुन्दरहरैंचा नगरपालिका–१ हरैंचा प्रवेश विन्दुबाट ग्रामथान प्रवेशमा रोक लगाएको जानकारी दिए ।

७ वडाध्यक्षको पनि निर्वाचन

ग्रामथान गाउँपालिकाको अध्यक्षसहित कोशी प्रदेशका अन्य सात वटा वडाहरूमा रिक्त रहेको वडाध्यक्ष पदका लागि समेत आइतबार निर्वाचन हुँदैछ । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका ६ वटा जिल्लाका सात स्थानीय तहमा रिक्त रहेका सातजना वडाध्यक्ष चुन्न मतदान हुन लागेको हो ।

झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२, उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।

View : 212

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved