Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङमा कांग्रेस, एमाले र नेकपा एसको संयुक्त ठहर

असामाजिक तत्वको घुसपैठबाट निजी तथा सर्वाजनिक सम्पतिको क्षति

उद्‌घोष संवाददाता
२७ भदौ २०८२, शुक्रवार

विराटनगर । अन्तरिम सरकार गठनमा भइरहेको ढिलाईले मुलुकमा राजनीतिक अन्यौलता बढेको छ । 

जेनजी समुहको नाममा भएको प्रदर्शनका क्रममा १९ जना विद्यार्थीहरूको मृत्युपछि चर्किएको उग्र प्रदर्शनमा मुलुकका अधिकांश प्रशासनिक संरचना आगजनी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् । 

ओलीको राजिनामापछि नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा जेनजी समुहको माग अनुसार अन्तरिम सरकार गठन हुने भनिएपनि अहिलेसम्म सरकार गठन भएको छैन ।

राजनीतिक अन्यौलता बढेको र संविधान बाहिरबाट अन्तरिम सरकार गठन गर्न लागेको भन्दै प्रमुख दलहरू भने सशंकित बनेका छन् । विकसित राजनीतिक अवस्थासँगै दलहरूले सक्रियता बढाएका हुन् ।

कोशी प्रदेशको राजधानी जिल्ला मोरङमा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले शुक्रबार संयुक्त विज्ञप्तिमार्फत राजनीतिक चासो व्यक्त गरेका छन् ।

उनीहरूले प्रचलित कानूनको अधिनमा रहि आफ्ना विचार राख्न, बिरोध प्रदर्शन गर्न, हड्ताल तथा अवज्ञा गर्न पाउने नागरिक अधिकार संविधानले नै दिएको अवस्थामा जेनजीहरुको आन्दोलनको क्रममा अनेकन असामाजिक तत्वहरुको घुसपैठबाट निजी तथा सर्वाजनिक सम्पतिहरुको क्षति भएको उल्लेख गरेका छन् । क्षतिलाई अपुरणीय र अक्षम्य भएको बताएका छन् ।

२०८२ भाद्र २३ र २४ गते सम्मुन्नत लोकतन्त्रको सपना बोकेर सुशासनका पक्षमा जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनमा साहदत प्राप्त गर्ने सम्पूर्ण युवा तथा विद्यार्थीहरूमा श्रद्धाञ्जली दिंदै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

कांग्रेस मोरङका सभापति डीगबहादुर लिम्बु, नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राई र नेकपा एस मोरङका अध्यक्ष चन्द्रवीर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनीहरूले घटनामा घाइते भएका युवा विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

‘आन्दोलनहरूको क्रममा भएको आगजनी, लुटपाट, हत्या दमनको स्वतन्त्र न्यायिक छानबिन गरी दोषीलाई कानूनको कठघरामा उभ्याउन जोडदार माग गर्दै यो असामान्य परिस्थितिबाट देशलाई अगाडी बढाउन संवैधानिक तवरबाट नयाँ निकास खोज्न आन्दोलनरत पक्ष, राजनैतिक दल, नागरिक समाज, बुद्दिजिवी, संचारकर्मी, उद्योग व्यवसायसहित सबै न्ययप्रेमी जनताहरूमा हार्दिक अपिल गर्दछौं ।’ 

विज्ञप्तिमा भनिएको छ, ‘यो संकटको घडीमा मुलक र जनताप्रति जिम्मेवार भएर संयमताका साथ शान्ति, लोकतन्त्रको रक्षाको लागि निरन्तर सहयात्रामा रहन सम्पूर्ण पार्टी पङ्तिलाई पनि अपिल गर्दछौं ।’

तीन पार्टीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ ले जनताका हक र अधिकारलाई संस्थागत गर्दै नेपाली जनतालाई रैतीवाट सार्वभौम जनता बनाएको तर्फ ध्यानाकर्षण समेत गराएका छन् ।

View : 570

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved