विराटनगर । दशैं खर्च नदिए कोशी प्रदेशका सुरक्षा मजदुरले यस वर्षको दशैंमा आफू कार्यरत संस्थामा सुरक्षा नदिने चेतावनी दिएका छन् ।
अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घ कोशी प्रदेश समितिले ठेकेदार कम्पनीहरुले श्रम ऐन अनुसार दशैंका लागि तलब बाहेकको खर्च नदिए ५ दिन सुरक्षा बन्द गर्ने प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका हुन् ।
सेक्युरिटी मजदुरले सेवा दिदै आएका बैंक तथा बित्तीय संस्था, अस्पताल, पालिकाहरु, मन्त्रालय, राजश्व कार्यालय, टेलिकम, विद्युत प्राधिकरण, उद्योग, गोदाम, कारखानालगायतमा सुरक्षा दिंदै आएका छन् ।
संघका प्रदेश अध्यक्ष टेकनारायण श्रेष्ठ र सचिव श्यामकुमार गौतमद्वारा जारी विज्ञप्तिमा श्रम ऐन अनुसार ठेकेदार कम्पनीले सुरक्षा मजदुरलाई दशैं खर्च १० हजार ८ सय २० रुपैंयाँ दिने जनाइएको छ ।
तर, मजदुर खटाउने कतिपय ठेकेदार कम्पनीे सो सुबिधा दिने गरेका छैनन् । यदी यस वर्षको दशैंमा सुबिधा नदिए असोज २४ देखि दशैं अवधिमा ५ दिन काममा नजाने जनाएका छन् ।
सुरक्षा मजदुरले ड्युटी नदिएको अवधिमा कुनै हानी नोक्सानी वा घटना भए त्यसको जिम्मेवार सुरक्षा प्रदायक ठेकेदार हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
सेक्युरिटी कम्पनीका सञ्चालकले सुरक्षा दिने निकायबाट रकम लिएर प्रति ब्यक्ति ५ हजार रुपैंयाँसम्म मासिक खाने गरेका छन् । कामको अवधि एक वर्ष नपुगेको जनाएर पनि दशैं खर्चबाट वञ्चित गर्ने गरिएको छ ।
एक वर्ष नपुगेका मजदुरको हकमा उसले काम गरेको जम्मा दिनलाई १२ ले भाग गरी महिना दिनलाई विभाजन गरेर सो अनुसार रकम दिने श्रम ऐनमा उल्लेख भएपनि ठेकेदार कम्पनीले त्यसो गरिरहेका छैनन् । दशैं अगावै खर्च उपलब्ध गराउन संघले माग गरेको छ ।
श्रम ऐन २०७४ र नियमावली २०७५ अनुसार सेवा सुबिधा दिन माग गर्दै सुरक्षा मजदुरले विभिन्न चरणमा आन्दोलन पनि गर्दै आएका छन् ।
View : 103
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved