Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बुढीगंगाको कर विवाद समाधान गर्न सुझाव समिति गठन

उद्घोष सम्वाददाता
१९ भदौ २०८१, बुधवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले लिंदै आएको करको दरबारे अध्ययन गरी गाउँपालिकालाई सुझाव दिन सात सदस्यीय सुझाव समिति गठन भएको छ ।

पालिकाभित्र उद्योग व्यवसाय संचालन गर्दै आएका उद्योगीहरुले गाउँपालिकाबाट विभिन्न नाममा चर्को दरमा दोहोरो तेहोरो कर लगाएको भन्दै गुनासो गर्दै आएका थिए । 

समस्या चर्किंदै गएपछि गाउँपालिका र उद्योगी व्यवसायीबीच बसेको बैठकले करको अध्ययन गरी सुझाव दिन गाउँपालिका उपाध्यक्ष अमृता कुमार गच्छदारको संयोजकतवमा सात सदस्यीय सुझाव समिति गठन गरेको हो । 

समितिको सदस्यहरुमा वडा नम्बर १ का वडाध्यक्ष सोमराज काफ्ले, नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन कुमार सारडा, परिसंघ कोशीकै संस्थापक अध्यक्ष भीम घिमिरे, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निर्वतमान अध्यक्ष नविन रिजाल छन् । अध्ययन समितिको सदस्य सचिवमा बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपाने छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको कार्यालयमा भएको बैठकले स्थानीय करलाई औद्योगिक मैत्री बनाउने बिषयमा दुवै पक्षबीच समझदारी समेत भएको जनाइएको छ ।

बैठकमा उद्योग व्यवसायमा नै असर गर्नेगरी र दोहोरो हुने गरी लागेका करको अवस्था र औद्योगिक वातावरण सहज बनाउन संसोधन गर्नुपर्ने कुराहरुबारे छलफल भएको हो ।

उक्त सुझाव समितिले आगामी आश्विन १० गते गाउँपालिकालाई राय सुझाव पेश गर्ने जनाइएको छ । सो कार्यदलले  पेश गर्ने सुझावका आधारमा गाउँपालिकाले आवश्यक कानुनी प्रक्रियालाई अगाडि बढाउने जनाइएको छ । 

परिसंघका अध्यक्ष सारडाले राज्य पुनर्संरचनापछि शक्ति बाँडफाँड र अधिकार क्षेत्र स्पष्ट पार्दै संघ, प्रदेश र स्थानीय निकायले उठाउने करका दायरा र शिर्षकहरु तोकिएपनि कोशी प्रदेशका बिभिन्न स्थानीय सरकारहरुले स्थानीय करका नाममा उद्योगी व्यवसायीहरुसँग दोहोरा तेहेरो लिएको बताए ।

उनले करको दायरा र दरसम्बन्धि कुनैपनि अनुसूचीमा नपर्ने बिषयमा समेत स्थानीय तहहरुले कर असुली गर्न थालेको बताए । यस्तो व्यवहारले औद्योगिक वातावरण नै खलबल हुने अवस्था बनेको उनले गुनासो गरे । 

बुढीगंगा गाउँपालिकाले भूमि कर, सम्पति कर, व्यवसाय कर, पटके सवारी कर, सरसफाइ कर, कवाडी कर लगायतका नाममा कर लिने भन्दै करका नाममा रकम असुली गर्ने परिपाटीअघि बढाएको उद्योगी व्यवसायीहरुले आरोप लगाए । 

समयमै यसबारे उद्योगी व्यवसायीहरु समेत सचेत भएर निराकरण गरी औद्योगिक वातावरण सहज बनाउन आवश्यक रहेको भन्दै बुढीगंगा गाउँपालिकासँग छलफल गरिएको जनाएको छ ।

उक्त छलफलमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले औद्योगिक वातावरण सहज बनाउन पालिका र उद्योगीहरु बीचको असमझदारीहरु हटाउन आवश्यक रहेको बताए । उनले एक आपसमा समझदारीपूर्वक अगाडि बढ्ने पालिकाको नीति रहेको जानकारी दिंदै उद्योगी व्यवसायी संस्थाका प्रतिनिधिसमेतको सहभागीतामा संयुक्त कार्यदल बनाएर सुझाव लिएर अघि बढ्ने बताए ।

त्यसका लागि सवैको सहभागीतामा सुझाव समिति बनाउने प्रस्ताव भएको र बैठकबाट निर्णय गरी उद्योगीहरुसँग हुने असमझदारीलाई हटाउँदै अघि बढ्ने समझदारी बनेको जानकारी दिए ।

छलफलमा गाउँपालिकाले भूमि कर, सम्पत्ति कर, व्यवसाय कर, पटके सवारी कर, सरसफाइ कर, कवाडी करका नाममा दोहोरा तेहेरो कर उठाएका कारणले उद्योग व्ययसाय चलाउन कठिन भएको र पलायन हुन सक्ने जोखिम बढेको उद्योगी व्यवसायीहरुले बताएका थिए ।

उक्त अवसरमा विगतदेखि नै बुढीगंगा गाउँपालिकासँग उद्योगी व्यवसायीहरुबीच बढ्ने गरेको असमझदारीहरुलाई हटाउँदै लैजान दुवै पक्षबीच समझदारीपूर्वक सम्वाद आवश्यक पर्ने विषयमा समेत छलफल भएको सीएनआई कोशी प्रदेशका महानिर्देशक विजयहरि शर्माले बताए ।

View : 116

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved