Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

स्काउटको निर्वाचित समिति विघटनविरुद्ध आन्दाेलनकाे चेतावनी

उद्‌घोष संवाददाता
९ साउन २०८३, शनिवार

नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य नवलप्रसाद उपाध्याय विश्व स्काउट सम्मेलनमा नेपालको झण्डा उचालेर फराउँदै ।

Advertisement

विराटनगर । नेपाल स्काउटका सम्पूर्ण निर्वाचित समितिहरू अचानक विघटन गरेपछि संस्थाभित्र तीव्र असन्तोष चुलिएको छ।

राष्ट्रिय परिषद् सदस्य नवलप्रसाद उपाध्यायले एक प्रेस वक्तव्य जारी गर्दै यस कदमप्रति कडा आपत्ति जनाएका छन् ।

ऐन, कानुन र सर्वोच्च अदालतको आदेशलाई समेत ठाडै उल्लङ्घन गर्दै गरिएको यो निर्णय तत्काल फिर्ता नलिए देशैभरका स्काउटरहरू कडा सङ्घर्ष तथा आन्दोलनका कार्यक्रममा उत्रने उहाँले चेतावनी दिएका छन् ।

 

विराटनगरबाट जारी गरिएको वक्तव्यमा उल्लेख भएअनुसार, नेपाल स्काउटको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार राति प्रधानमन्त्री तथा संरक्षकको निर्देशन र शिक्षा तथा खेलकुद मन्त्री तथा प्रमुख स्काउटको निर्णय भन्दै राष्ट्रिय, प्रदेश, स्थानीय परिषद् तथा सम्पूर्ण कार्यकारी समितिहरू विघटन गरिएको सूचना जारी गरिएको थियो।

वि.सं. २०८० सालमा विश्व स्काउट संगठनका प्रतिनिधिहरूको समेत उपस्थितिमा स्वच्छ, निष्पक्ष र लोकतान्त्रिक ढङ्गबाट निर्वाचित भएका यी समितिहरूको चार वर्षे कार्यकाल अझै बाँकी रहेको अवस्था छ।

यस्तो अवस्थामा मध्यरातमा बिना हस्ताक्षरको सूचना जारी गरी समितिहरू भङ्ग गरिनु पूर्ण रूपमा गैरकानूनी र संस्थाको गरिमामाथि ठूलो प्रहार भएको ठहर गरिएको छ।

यसअघि पनि तदर्थ समितिहरू गठन गर्ने प्रवृत्तिविरुद्ध सम्मानित सर्वोच्च अदालतले तदर्थ समिति नबनाउनू भनी परमादेश जारी गरेको थियो।

तर, त्यसलाई समेत बेवास्ता गर्दै चालिएको यो कदम अदालतको समेत अवहेलना भएको विज्ञप्तिमा औंल्याइएको छ।

 

केन्द्रबाट ठाडो निर्देशनका भरमा प्रदेश र स्थानीय तहका अधिकारक्षेत्रमा समेत ठाडो हस्तक्षेप गरी नेपाली युवाहरूको शैक्षिक, नेतृत्व तथा व्यक्तित्व विकासको अभियानलाई अवरुद्ध पार्ने नियत राखिएको आरोप लगाइएको छ।

यस संवेदनशील विषयमा विश्व स्काउट संगठनको समेत गम्भीर ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाल स्काउटका संरक्षक र शिक्षा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउटलाई यो त्रुटिपूर्ण र गैरकानूनी निर्णय तत्काल सच्याउन जोडदार अपिल गरिएको छ।

यदि माग सुनुवाइ नभए देशव्यापी रूपमा कडा विरोधका कार्यक्रमहरू अघि बढाइने चेतावनी दिइएको छ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved