Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

धरानका मेयर र उपमेयरबीच चर्काचर्की

उद्घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले मेयर हर्क साम्पाङको कार्यशैलीप्रति कार्यपालिका बैठकमै विरोध जनाएका छन् । उपमेयर बेघाले साम्पाङको कार्यशैलीको विरोध जनाएपछि उनीहरुबीच चर्काचर्की भएको छ । उनीहरुबीचको चर्काचर्कीको भिडियो सामाजिक सञ्जालहरुमा समेत सार्वजनिक भएको छ ।

उपमेयर बेघा मेयर साम्पाङको अराजक कार्यशैलीप्रति मौन रहँदै आएका थिए । तर साम्पाङले बेघाविरुद्ध सामाजिक सञ्जालबाटै लान्छना लगाएपछि कार्यपालिका बैठकमा मेयर साम्पाङलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि उपमेयर बेघा उनीविरुद्ध रुष्ट बनेका थिए । साम्पाङको कार्यशैलीप्रति मौनता साँध्दै आएका बेघा उक्त घटनापछि भने आक्रोसित बनेका हुन् ।

आइतबार बोलाइएको कार्यपालिका बैठक सुरु भएको प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले जानकारी दिए लगत्तै उपप्रमुख बेघा आफूले 'केही कुरा भन्नु छ' भन्दै आसनबाट उठेका थिए । त्यसपछि मेयर साम्पाङले बोल्न अनुमति नदिएको भन्दै बस्नका लागि आग्रह गरेका थिए । बैठकको अध्यक्षता गरेका मेयर साम्पाङ र उपमेयर बेघाबीचको विवाद चर्काचर्कीमा परिणत भएको थियो । 

आफूलाई उपमेयर बेघाले असहयोग गरेको मेयर साम्पाङले आरोप लगाए । त्यसरी असहयोग गरेको पुष्टि गर्न उपमेयर बेघाले चुनौती दिए । साम्पाङले बेघाविरुद्ध सार्वजनिक भएको भिडियो शेयर गरेका थिए । त्यसमा उपमेयर बेघाले आपत्ति जनाएका थिए ।

‘तपाइँले खेलाँची गरेको ? किन शेयर गर्नुभो ?,’ उपमेयर बेघाले भने, ‘तपाईलाई काँधमा राखेर आँखा चिम्लेर बोकेर हिंडेको, जसले बोक्छ उसको टाउकोमा दिसापिसाब गर्दै नहिंड्नुस् ।’
बैठक असहज रुपमा अघि बढे पनि कार्यपालिका सदस्यहरु भने रमिते बनेका थिए । बैठक असहजताकै बीचमा सकिएको थियो ।

साम्पाङले उपमहानगरपालिकाको कार्यक्षमता स्वमूल्यांकनको नतिजा पनि प्रस्तुत गरेका थिए । त्यस क्रममा पनि उनीहरुबीच विवाद भएको थियो ।

साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उपमहागरपालिकाकै लेटरप्याडमा लेखेर उपमहानगरपालिकाको तर्फबाट उपमेयर बेघाले क्षमा याचना गरेका थिए । सोही विषयमा साम्पाङले बेघालाई बैठककै क्रममा स्पष्टीकरण मागेका थिए ।

उपमहानगरपालिकाको पहिलो व्यक्ति आफू भएकाले उपमेयर बेघाले लेटरप्याड दुरुपयोग गरेर माफी मागेको भन्दै साम्पाङले असन्तुष्टि पोखेका थिए ।

यसैबीच धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो राखिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बैठक हलमा राखिएपनि मेयर साम्पाङले कुनै आपत्ति जनाएनन् । मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट हटाएको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भने अहिलेसम्म पुनः राखेका छैनन् ।

View : 146

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved