Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

बरुण नदीमा विद्युत् आयोजना संचालन नगर्न माग

अलौकिक शक्ति रहेको दाबी गर्दै विद्युत आयोजना बनाउने नदिने गाउँपालिकाको निर्णय
उद्घोष सम्वाददाता
१९ माघ २०८०, शुक्रवार

सङ्खुवासभा, १९ माघ । सङ्खुवासभाको भोटखोला गाउँपालिका हुँदै बग्ने बरुण नदीबाट विद्युत् उत्पादन गर्दा उक्त नदीको ऐतिहासिक एवं धार्मिक महत्व ओझल पर्ने भन्दै विद्युत उत्पादन नगर्न आग्रह गर्ने गाउँपालिकाले निर्णय गरेको छ । 

मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको दाबी गर्दै उक्त नदी संरक्षण गर्नुपर्ने पालिकाका जनप्रतिनिधिहरुको भनाई छ । बरुण नदीबाट विद्युत उत्पादन गर्दा नदीको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताए । 

गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय भएको जानकारी दिए ।

बरुण नदीबाट १३२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो ।

विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको गाउँपालिकाका अध्यक्ष भोटेले बताए । 
ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उनको भनाइ छ ।

बरुण नदीले ऐतिहासिक, धार्मिक एवं मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले समेत विरोध गरेका छन् । गोमुख गङ्गाको शिर बरूण नदी भएकाले ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थानका रुपमा यसलाई लिने गरिएको पौराणिक मान्यता छ । यसरी पौराणिक महत्व बोकेको नदीमा जलविद्युत आयोजना निर्माण गर्दा नदीकै अस्तित्व हराउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।

सत्ययुगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा बरूणलाई लिइएको धार्मिक ग्रन्थमा उल्लेख छ । यस नदीको पानीको रङ अन्य नदीकोभन्दा फरक अर्थात् नीलो छ । 

बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोका रूपमा लिइने गरिन्छ । बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन् । अरुण र बरुण नदीलाई मामा र भाञ्जाको सङ्ज्ञा पनि दिने गरिएको छ ।

View : 197

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved