Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए विश्वासको मत

पक्षमा ५७, कांग्रेस अनुपस्थित भएपछि विपक्षमा शुन्य मत
उद्घोष सम्वाददाता
३१ वैशाख २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री कार्कीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५७ मत परेको हो । 

उक्त मत प्रदेश सभाको तत्काल कायम रहेको ९३ जना सदस्य संख्याको बहुमत भएको हुँदा मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर बिष्टले घोषणा गरे । प्रस्तावको विपक्षमा शुन्य मत प्राप्त भएको उनले सभालाई जानकारी दिए । त्यस्तै मत विभाजन कार्यमा ६२ जना सांसद उपस्थित भएको र मत दिन्न भन्नेमा पक्षमा राप्रपाको पाँच मत परेको बताए ।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ३ र जनता समाजवादीको १ मत परेको हो । मुख्यमन्त्री कार्कीले सरकार फेरिने र विश्वासको मत लिने प्रक्रियालाई राजनीतिक हत्कण्डाका रुपमा मात्रै हेरिन नहुने बताए । उनले २०८४ सालभन्दा पछिसम्मको परिस्थितिलाई हेरेर यो सरकार गठन भएको दाबी गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठनको प्रक्रिया अदालतमा विचाराधीन रहेको र विवादका बीच हतारमा विश्वासको मत लिन लागेको भन्दै प्रदेश सभाको बैठकमा अनुपस्थित भएको थियो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा सूचना दिएपछि विश्वासको मत लिने कार्यसूची अघि बढेको थियो । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेस अनुपस्थित भएपछि मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारलाई मतको मात्रै नभई मनको सरकार बनाउन आग्रह समेत गरेका थिए ।

सोमबार विहान ११ बजेका लागि बोलाइएको पाँचौ अधिवेशनको पहिलो बैठक अघि नेपाली कांग्रेस संसदीय दलले भने आफ्नो धारणा बनाउने भन्दै समय माग गरेपछि निर्धारित समयमा संसदको बैठक सुरु भएन । कांग्रेसले विहान ८ बजे बोलाएको संसदीय दलको बैठक १२ बजेमात्रै सुरु भएको थियो ।

बैठकमा कांग्रेस नआउने थाहा पाएपछि मुख्यमन्त्री कार्कीले सभामुख बिष्टलाई विश्वासको मत लिने प्रक्रिया अघि बढाइदिन आग्रह गरेका थिए । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन समय माग गरेका कारण सभामुख बिष्टले पनि बैठकको कारवाही अघि बढाएका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफै प्रक्रियामा सहभागी भएर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन भूमिका निर्वाह गरेका कारण सरकारलाई पूर्ण समर्थन रहेको बताए । उनले केन्द्रीय समीकरणमा आइरहने परिवर्तनले सरकारहरू फेरबदल भइरहेको बताए ।

संसदीय प्रणालीमा अल्पमतमा पर्नेले विश्वासको मत लिनुपर्ने वा मार्ग प्रसस्त गर्नुपर्ने र बहुमतले सरकार सञ्चालन गर्ने परिकल्पना भएपनि अघिल्लो मुख्यमन्त्री केदार कार्की उक्त प्रणालीविरुद्ध नै सक्रिय देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक व्यवस्था र अभ्यास मान्ने पार्टीका रुपमा चिनिएपछि प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा अनुपस्थित भएर आफ्नो मान्यतामाथि नै प्रश्न खडा गरेको आरोप लगाए ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सर्वोच्चमा वर्तमान सरकार गठनको विषय प्रवेश भएपनि आदेशमा अदालतले अग्राधिकार पनि नदिएको, निरन्तर सुनुवाई पनि नगरेको, न अन्तरिम आदेश दिएको, न अल्पकालीन आदेश दिएको अवस्थामा विश्वासको मत लिनका लागि कुनै पनि बाधा नभएको स्पष्ट पारे । 

सोही कारण अदालतको विषयलाई लिएर वर्तमान सरकारले विश्वासको मत लिनका लागि पर्खिनुपर्ने अवस्था नै नरहेकोले तत्कालै विश्वासको मत लिएर आगामी आर्थिक वर्षको बजेट निर्माण लगायतका विषयमा सरकार अघि बढेको दाबी गरे ।

भण्डारीले नेपाली कांग्रेसलाई संसदीय प्रक्रियामा फर्किन आग्रह समेत गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशका सरकारहरू स्थिर हुन नसकेको बताए । उनले कोशी प्रदेशमा सबै दलहरू मिलेर स्थिरता दिनका लागि लाग्नुपर्ने धारणा राखे ।

दलहरूले आदर्श छोडेर अवसरका लागि जे पनि गर्न तयार भएको आरोप लगाए । वर्तमान सरकार गठनको प्रक्रिया सर्वोच्च अदालतमा समेत विचाराधीन भएका कारण राप्रपाले प्रक्रिया नटुंगिएसम्म विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको बताएका थिए ।

कार्की नेतृत्वको सरकार गठनको प्रक्रियामा सहभागी नभएको नेकपा एकीकृत समाजवादी संसदीय दलको तर्फबाट बोल्दै सांसद एवं पूर्वमन्त्री कमलप्रसाद जबेगुले केन्द्रदेखि प्रदेशसम्मको बामपन्थी गठबन्धनमा आफ्नो दल पनि सहभागी भएको बताए । 

उनले सरकार गठनका विषयमा आफ्नो दलले प्रक्रियागत असहमति राखे पनि संविधानको धारा १६८ को उपधारा (५) को सरकार परिवर्तन हुन सक्ने र त्यस्तो सरकारलाई पनि बहुमत आवश्यक हुनेमा स्पष्ट रहेको बताए । 

उनले सरकार गठनको प्रक्रियामा आफ्नो दल सहभागी नभएका कारण प्रतिपक्षमै बसेर सरकारलाई भने विश्वासको मत दिने घोषणा गरेका थिए । जबेगुले कार्कीलाई मुख्यमन्त्री बन्न सफल भएको भन्दै बधाई भने दिएका थिए ।

View : 209

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved