Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

११औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिप

मोरङकी दीपाले दोस्रो पटक जितिन् ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल, तेस्रो पटक पनि स्वर्ण पदक

बाबुराम भण्डारी
६ साउन २०८१, आइतवार

मेडलसहित खेलाडी दीपा बिष्ट ।

Advertisement

विराटनगर । काजकिस्तानमा सम्पन्न ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा मोरङकी दीपा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित स्वर्ण पदक प्राप्त गरेकी छन् । मोरङको सुन्दरहरैंचा–११ की बिष्टले यो टाइटलका लगि ९५ केजी तौल उचालेकी हुन् । 

बिष्टले वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनसिप अन्तरगत पछिल्ला तीन वर्ल्ड च्याम्पियनसिपमा लगातार आफ्नै कीर्तिमान तोड्दै तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल आफ्नो बनाउन उनले९५केजी प्लस तौल उचालिन् ।

पूर्वी कजाकस्तानको कमनोगोर्क्समा सोमबार (असार ३१) देखि सुरु भएको च्याम्पियनसिपमा बिष्टले  शुक्रबार भएको प्रतिष्पर्धामा स्वर्ण पदकसहितको यो उपाधि जितेकी हुन् । उनले उपाधि सुरक्षित गरेसँगै वर्ल्ड स्ट्रेन्थलिफ्टिङ फेडेरेशनका अध्यक्ष ज्हेनबेक म्यूक्याबेटवसहितको हस्ताक्षरयुक्त प्रमाणपत्रसहित पदक र ट्रफी प्राप्त गरेकी छन् ।

बिष्टले गत बर्ष भारतको हैदराबादमा सम्पन्न १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिपम ९० केजी तौल उचालेर आफ्ना सवै कीर्तिर्मान तोड्दै ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी थिइन् । त्यसैगरी किर्गिस्थानमा भएको ९औं अन्तर्राष्ट्रिय स्ट्रेन्थलिटिङ एण्ड आईबीपी च्याम्पियनमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । 

उनले प्रत्येक बर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आएकी हुन् । कजाकस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीहरुको सहभागी रहेको जनाइएको छ । 

उक्त च्याम्पियनसिपमा नेपालबाट आठ खेलाडी र एकजना प्रशिक्षकसहित ९ जनाको टोली निकै कष्टकर यात्रा तय गरेर कजाकस्तान पुगेको थियो । नेपालमा कजाकस्तानको दुताबास नभएका कारण नेपालबाट च्याम्पिनसिपमा सहभागी हुने खेलाडीहरुले भारतको दिल्ली पुगेर भिसाका लागि निकै झन्टिलो समय बिताउनु परेको जनाइएको छ । 

कठिनाईहरुका वावजुद पनि आफूले देशका लागि खेलेर स्वर्ण पदक जित्न पाउँदा निकै खुसी भएको बिष्टले बताइन् । सवै खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गरेको भन्दै यो खेलमा आफ्नो अझ विश्वास बढ्दै गएको बताइन् ।

‘म एकदमै खुसी छु, तीनचोटी नै गोल्ड मेडल ल्याएको छु, आफ्नो रेकर्ड आफैं ब्रेक गर्दै टाइटलहरु पनि जितेको छु’ नेपाल फर्किनुअघि कजकस्तानबाट उनले भनिन्, ‘११औं च्याम्पियनसिपका लागि मेरो चार महिनादेखि ट्रेनिङले सफलता सुनिश्चित गरेको छ, म धेरै नै खुसी छु, आगामी प्रतियोगीतामा अझ धेरै राम्रो रेकर्ड बनाउने कोसिस गर्नेछु ।’

बिष्टले नेपाली खेलाडीहरुले उत्साहपूर्ण खेल प्रदर्शन गरेको स्वर्ण पदक सूचीहरुको संख्या थपिंदै गएको बताइन् । नेपालले आगामी दिनमा स्ट्रेन्थलिफ्टिङ र आईबीपी खेलमा धेरै राम्रो कीर्तिमानहरु बनाउन सक्ने भन्दै खेलकुदसम्वद्ध निकायहरुको सहयोग आवश्यक रहेको बताइन् । उनले यसपटक नेपाली टोलीले भिसा प्रक्रियामै धेरै कठिनाई भोगेको गुनासो गरिन् ।

‘नेपालको टिमलाई भिसा लगायतमा निकै गाह्रो भएको थियो, भारतमा पुगेर भिसाको प्रक्रिया पूरा गर्न पनि धेरै समस्या भएको थियो, नेपाली दुताबासले सहयोग गरेका कारण हामी च्याम्पियनसिप खेल्न पायौं’ उनले भनिन् ‘चुनौतिहरुका वावजुद पनि मेडल ल्याएका छौं, नेपालले गोल्ड मेडल पाउँदा सवै जना धेरै खुसी छौं ।’

हैदरावादको १० औं च्याम्पियनसिपमा १६ वटा राष्ट्रले सहभागिता जनाएको यो खेलमा यस पटक २० वटा राष्ट्रले सहभागी भएको जनाइएको छ । प्रतिष्पर्धी मुलुकको संख्या र खेलाडीहरु समेत बढ्दै गए पनि दीपाले उपाधिका लागि लगातार दाबेदारी सिद्ध गरिरहेकी छन् ।

मोरङकै माटोमा जन्मिएर हुर्किएकी उनले संघ र प्रदेश सरकारबाट अहिलेसम्म पनि कुनै पनि प्रकारको प्रोत्साहन प्राप्त गरेकी छैनन् । नेपालका लागि खेलेर लगातार तेस्रो पटक स्वर्ण पदक भित्र्याइएकी बिष्टले खेलसम्वद्ध संस्थाहरुको नजरमा परेकी छैनन् । 

खेल र आफूले प्राप्त गरेको पदकबारे उनले तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई र निवर्तमान मुख्यमन्त्री केदार कार्कीकै कार्यकक्षमा पुगेर जानकारी गराएकी थिइन् । उनी दुवै मुख्यमन्त्रीबाट सहयोगको आश्वासन पाएर पनि त्यसपछि वेवास्तामा परेकी हुन् । त्यसको ज्वलन्त प्रमाण दुवै मुख्यमन्त्रीहरुको उपस्थितिमा प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको खेलाडी सम्मानमा उनी छुटाइएकी थिइन् ।

नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत नेपालकै लागि पदक भित्र्याएर पनि उनी सरकारको वेवास्तामा परेकी हुन् ।

अनेकौं कठिनाई र आफ्नै स्रोत साधन र खर्च जुटाएर खेल्दै आउनु परेको यो खेलका खेलाडीहरुको गुनासो संघीय सरकारले समेत सम्बोधन गर्न सकेको छैन । आफ्नो खर्चमा खेल खेलेर देशका लागि पदक प्राप्त गर्दा पनि तीनै तहका सरकारहरूले प्रोत्साहनसमेत नगरेको उनीहरुको गुनासो रहेको छ ।

स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपीखेल नेपालमा छोटो समयमै विकास भएको खेल हो । यो खेलको विकासका लागि लागेका खेलकुदकर्मीहरुले नेपालमा हुने राष्ट्रिय खेलकुदमा समेत यसलाई समेट्नुपर्ने आवाज उठाउँदै आएका छन् । 

कजकस्तानमा सम्पन्न ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिपमा नेपालले ओभरअल प्रतिष्पर्धामा तेस्रो स्थान हासिल गरेको जनाइएको छ । 

नेपाल स्ट्रेन्थलिफ्टिङ फेडेरेशनका अनुसार बिष्टसहित चारजना खेलाडीले नेपालका लागि ६ वटा स्वर्ण पदक दिलाएका छन् । करण बडियले कनिष्ठतर्फ स्ट्रेन्थलिफ्टिङ र आईबीपीमा दुईवटा स्वर्ण पदक प्राप्त गरेका छन् । 

त्यसैगरी महिलातर्फ अमृता खड्का शेर्पाले ५८ केजी समूहमा स्ट्रेन्थलिफ्टिङ र आईबीपीमा दुईवटा स्वर्ण पदक हासिल गरेको फेडेरेशनले जनाएको छ । ७६ केजी मास्टर–२ मा केदारमान स्थापितले पनि स्वर्ण पदक प्राप्त गरेका छन् ।

View : 717

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved