Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

दशगजा मिचेर कारोबारीको घर

सीमा अतिक्रमण गरेर खेती वा घर रहेको विषयमा दुबै देशका सुरक्षाकर्मीले सादा पोशाकका प्रहरीमार्फत सूचना लिई रहेको मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले बताए ।
उद्‌घोष संवाददाता
११ वैशाख २०८३, शुक्रवार

दशगजाको स्तम्भ र ठाकुरले बनाउंँदै गरेको गोदाम घर । तस्वीर : कमल/उद्घोष

विराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित भुटाहामा दशगजा मिचेको बर्षौपछि पक्का घर बन्न थालेको छ । खाद्यान्नको कारोबार गर्दै आएका ब्यक्तिले दशगजामा बनाएको घर बारे सरोकारवाला बेखबर छन् ।

भुटाहास्थित सिंघिया खोलाको पुलबाट करिव दुई किलोमिटर दक्षिणमा स्थानीय खाद्यान्न कारोबारी दिनेश ठाकुरले पक्का पर्खालसहित बनाउँदै गरेको गोदाम घर दुई देश बीचको अन्तर्राष्ट्रिय सीमामा पर्छ । 

‘दशगजा र ऐलानी जमिनमा पक्का घर बन्दैछ, यसले पछि दुई देशबीचको सम्बन्धमा समस्या ल्याउन सक्छ’ ठाकुरका छिमेकी कलानन्द यादवले भने ।

पूर्वपश्चिम दशगजाको सिमानामा ठाकुरले बनाउँदै गरेको घर भएको पश्चिम बाटो छ भनें पूर्वतर्फ मकै खेती गरिएको छ । घरको दुईतर्फ बाटो र खेती छ । 

झट्ट हेर्दा सीमामा घर बन्दै गरेको नदेखिने भएकाले नजिकै रहेको सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’पनि बेखबर छ । तर, नक्सामा भने १८३ कित्ता नम्बर भएको जमिनको मुखमा बन्दै गरेको घर दशगजामा छ ।

ठाकुरको घर भन्दा दक्षिणपट्टी दशगजामै पुरानो कच्ची घर छ । दुई देशबीच सिमाना खुल्ला गर्ने सहमति गरेर अतिक्रमण हटाउन थालेको वर्षाै भएपनि त्यसको असर यहाँ देखिएको छैन । 

‘यदि त्यस्तो रहेछ भनें भोलिनै काम बन्द हुन्छ’ जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले भने— ‘सीमा सुरक्षाका बारेमा हामी सतर्क छौं ।’ 

निजी जमिनमा बनेको घरका बारेमा उनले गाउँ दिहातमा नक्सा पास नगरी घर बनाउंने र बैंिकङ कारोबारमा समस्या भएपछि मात्रै नक्साका लागि पालिकामा आउने चलन रहेको पनि उनले बताए ।

ठाकुरले खाद्यान्नको कारोबार गर्ने उद्देश्यले बनाएको घर भन्दा करिव ४ सय मिटर पूर्वमा १७५ नम्बरको सीमा स्तम्भ छ । दशगजाको उत्तर र दक्षिण दुबैतर्फ खेती लगाइएको छ । दुबै तर्फबाट सिमाना मिचेर खेती गरिएको छ । 

सीमा अतिक्रमण गरेर खेती वा घर रहेको विषयमा दुबै देशका सुरक्षाकर्मीले सादा पोशाकका प्रहरीमार्फत सूचना लिई रहेको मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले बताए ।

सीमा अतिक्रमणको सुक्ष्म अध्ययन गर्न नापी बिभागले टोलीसमेत परिचालन गरेको छ । टोली झापाबाट नापी गर्दै पश्चिमतर्फ लागेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल बताउँछन् । 

‘हामीले सीमा अतिक्रमण नियन्त्रण गर्न नापीका कर्मचारीसहित अभियाननै चलाई रहेका छौं, शंका लागेका ठाउँमा नापी बिभागलाई पुनः आग्रह गछौ’ कट्टेलले भने ।

View : 161

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved