Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा

उद्‌घोष सम्वाददाता
९ माघ २०८०, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले सोमबारदेखि शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको छ । सरकारैपिच्छे नाम फेरिंदै आएको विवादका बीच हृदय रोग केन्द्र सञ्चालनमा आएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ऊक्त हृदय रोग केन्द्रको संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।

कोभिड १९ उपचार केन्द्रका नाममा नागरिक स्तरमा सहयोग जुटाएर किनिएका करोडौंका स्वास्थ्य उपकरण एउटा कोठामा थन्क्याएर मुख्यमन्त्री कार्कीले आफैंले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयबाट बजेट छुट्याएर हृदय रोग केन्द्र सञ्चालन गरेका हुन् । सरकारले असल नियतले अस्पताल सुरु गरेकोले आफू कुनै पनि प्रकारको छानबिन सामना गर्न र आवश्यक परे जेल जानसमेत तयार रहेको बताए ।

उनले कोशी प्रदेशमा दुई लाख मान्छेमा मुटुरोग रहेको दाबी गर्दै उनीहरुको ज्यान बचाउन प्रदेश सरकारले हृदय रोग केन्द्र स्थापना गरेको दावी गरे ।

‘जुनसुकै सरकारले सुरु गरेको भए पनि अहिलेसम्म थन्किएर बसेका संचरनालाई प्रयोग गर्दै जान्छौं, निजी अस्पतालहरुसँग पनि सहकार्य गर्छौं’ मुख्यमन्त्री कार्कीले भने, ‘नोबेल र विराट शिक्षण पनि सरकारकै हो, सरकारले चाहेको बेलामा प्रयोग गर्नसक्छ, उफ्रिनेहरुलाई मुखले जवाफ दिन्न, कामले देखाउँछु ।’

हृदय रोग केन्द्र सञ्चालनको चुनौतिको बिषयभन्दा पनि कसरी चलाउने भन्ने बिषयमा सवैजना केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । हृदय रोग केन्द्रबाटै पहाडी क्षेत्रमा रहेका मुटुरोगीहरुलाई टेलिमेडिसिन सेवा दिने पनि मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

‘नोबेल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा राजेश नेपालले पनि हरेक दिन बेलुका आएर हेरीदिन्छु भन्नू भएको छ’ उनले भने, ‘सरकारले जनतालाई सय दिनको उपहार दिएको छ, जनतालाई मुटु उपहार दिएको छ, छिमेकी भारतीय नागरिकहरुले पनि उपचार पाउने छन् ।’

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि कोशी अस्पतालका डा सर्वेश झाको नेतृत्वमा चिकित्सक टोली खटाउने तयारी अघि बढाएको छ । अस्पतालमा मुटु रोगको उपचारका लागि अत्यावश्यक क्याथ ल्याब समेत खरिद गरेर सञ्चालनमा ल्याउने योजना बनाइरहेको डा.झाले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले कोशी प्रदेशमा मुटु रोगको उपचारका लागि अस्पतालको विकास गर्न कठिन नभएको बताए । उनले अस्पतालको सेवा सञ्चालन गर्दै विराटनगर महानगरपालिका–१८ का ८० वर्षीय सीताराम इसरको मुटुको जाँचसमेत गरेका थिए ।

हृदय रोग केन्द्रको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले लगायतले शुभकामना दिएका थिए ।

उनीहरुले अस्पताल सञ्चालन गर्नु सकारात्मक भएपनि सञ्चालनको प्रक्रियालाई अझ पारदर्शी बनाउँदै लैजान सुझावसमेत दिएका थिए । 

स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले सवैको प्रयास र निरन्तरको सहयोगले मुटु रोग अस्पताल सञ्चालन गर्न सम्भव भएको बताइन् ।

सरकारले मुटुरोगको विशेषज्ञ सेवा दिने भनेर महिला नेतृत्व शैलजा आचार्यको नामबाट अस्पताल सुरु गरेपनि अस्पताल सञ्चालनको मोडालिटी स्पष्ट पार्न सकेको छैन । सञ्चालनमा नआउँदै अस्पताल विकास समितिको नाममा राजनीतिक नियुक्ति गर्ने र पार्टीका कार्यकर्ताहरुको राजनीतिक भर्तिकेन्द्र बनाउन लागेको नागरिक समाजले आरोप लगाएका छन् ।

View : 172

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved