Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

आर्थिक विकासका लागि कोशी अग्रणी छ : अध्यक्ष राउत

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले आर्थिक विकासका लागि कोशी प्रदेश अरु प्रदेशभन्दा अग्रणी रहेको बताएका छन् ।

संखुवासभा उद्योग वाणिज्य संघको १८औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष राउतले कोशी प्रदेशमा आर्थिक गतिविधि बढाउनका लागि महासंघले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । 

उनले प्रदेशको पहाडी र हिमाली जिल्लाहरू रमणीय रहेको चर्चा गर्दै संखुवासभा जिल्लाले समेत छोटो अवधिमै विकासमा फड्को मारेको बताए ।

संखुवासभा जिल्लामा जलविद्युतको धेरै सम्भावना भएको बताए । अहिले माथिल्लो अरुण र तल्लो अरुणसमेत अघि बढिरहेकोले यसले कोशी प्रदेशको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने अध्यक्ष राउतले बताए ।

अब मुलुकमा ठूलो मात्रामा विद्युत खपत गर्ने उद्योगहरू स्थापना गर्ने नीति सरकारले अघि बढाउनु पर्ने सुझाव दिए । 

जसको माध्यमबाट धेरै संख्यामा रोजगारीको अवसर सिर्जना हुने र देशको आर्थिक बृद्धिमा मद्दत पुग्ने बताए । साथै किमाथांकासम्मको सडक निर्माण भैरहेको हुँदा संखुवासभादेखि विराटनगरसम्म औद्योगिक तथा आर्थिक ट्रान्जिटको रुपमा विकास हुने दाबी गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू नरेन्द्रकुमार खड्का, प्रयास कार्की, दिपक नेपाल, गोकुल श्रेष्ठ, नविन रिजाल, कल्पना गैरे लगायत महासंघ कोशी प्रदेशका पदाधिकारीहरू, कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

उनीहरूले कोशी प्रदेश सरकारको भ्रमण वर्ष २०८२ लाई सफल बनाउन संखुवासभाका विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गरेका थिए ।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतको अध्यक्षतामा आयोजित साधारणसभाले संघको बार्षिक नीति तथा कार्यक्रम पारित गरेको जनाइएको छ ।

View : 409

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved