विराटनगर । केही समय अघिसम्म विद्यादेवी भण्डारीको निकट र विश्वासपात्रका रुपमा चिनिन्थे शेरधन राई । तत्कालीन प्रदेश १ (हाल कोशी प्रदेश) का सस्थापक मुख्यमन्त्री राईले पनि अन्ततः भण्डारीको साथ छाडेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको नेतृत्व दाबी गर्दै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको पार्टी सदस्यता नै रोकेका थिए ।
साउन पहिलो साता काठमाडौंमा आयोजित केन्द्रीय कमिटी बैठकमार्फत ओलीले भण्डारीको सदस्यता नविकरण नहुने निर्णय गराएका थिए ।
ओलीले यस्तो निर्णय गराएसँगै विगतदेखि नै भण्डारीको साथका कारण राजनीतिक लाभ लिइरहेकाहरुले पनि साथ छाड्दै गएका हुन् । शेरधन राई यही मेसोका पछिल्ला पात्र हुन् ।
एमाले कोशी प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य राई भण्डारीकै जन्मथलो भोजपुरका नेता हुन् । एमालेमा अरु धेरै सिनियर नेता पछि पार्दै फड्को मारेका शेरधन राई विद्यादेवी भण्डारीकै जोडबलमा माथि पुगेका नेता मानिन्छन् ।
उहाँलाई भण्डारीको आशीर्वाद थिएन भने न उहाँ मुख्यमन्त्री बन्न सम्भव थियो, न पार्टी प्रदेश इञ्चार्ज, एमाले कोशीका एक नेताले भने, अहिले ओलीको त्रासले उहाँले धोका दिनुभयो । अवसरवादको चरम नमुना शेरधनले पेश गर्नुभयो ।
यसको सुरुवात साउन पहिलो साता काठमाडौंमा आयोजित केन्द्रीय कमिटी बैठक अघिबाट भएको थियो ।
बैठकको अघिल्लो दिन राईले कोशीका केन्द्रीय सदस्य भेला गरेर ओलीका पक्षमा र विद्याका विपक्षमा उभिन निर्देशन गरेका थिए । सोही भेलामा सुनसरीका नेता जगदीश कुसियैतले तपाईं पनि यतै पो हो ? भन्दै सोधेका थिए । त्यसबेला राईले मुसुमुसु हाँसेर टारेका थिए ।
एमाले नेताहरुका अनुसार यदि भण्डारीको साथ र सहयोग नपाएको भए शेरधन राई मुख्यमन्त्री बन्न सम्भव थिएन । अहिले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज राईले त्यो गुन बिर्सेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध लागेको भन्दै एमालेभित्र असन्तोष छ ।
उनले शनिबार मात्रै भोजपुरमा भण्डारीको सदस्यताबारेको बहसमा भावनाले मात्रै नहुने बताएपछि भण्डारी पक्षधर उनीसँग फायर भएका छन् ।
पार्टी जिल्ला कमिटीको शनिबारको बैठकमा भण्डारीको सदस्यता रोक्ने निर्णयले तलसम्म असर परेको कुरा उठेपछि राईले पार्टीले निर्णय गरिसकेको विषयमा कोही दायाँबायाँ गर्न नमिल्ने बताएका थिए ।
भोजपुरमा जन्मिएकी भण्डारीको राजनीतिक सुरूवात भोजपुरबाट र विद्यार्थी राजनीति विराटनगरबाट सुरु भएको थियो ।
नेता राईले जिल्लाकै हिसाबले पनि आफ्नो दिदीभाइको सम्बन्ध रहेको र ५६ सालदेखि आफ्नो राजनीतिक जीवनमा सहयोग पनि गरेको सम्झिदै सधैं आफूले सम्मान गर्ने तर, राजनीतिक कुरा र पार्टीको निर्णयबाहिर जान नसक्ने बताएका थिए । भण्डारीले आफ्ना विचार÷आकांक्षा र सोचलाई विधि पद्धतिविपरीत सार्वजनिक ठाउँमा बोलेको उनको टिप्पणी थियो ।
एमालेको अध्यक्षकै निम्ति आउँदैछु भनेर मिडियाबाट बोलेको भन्दै राईले भने, ‘उहाँ पूर्वराष्ट्रपतिको हैसियतमा रहनुभएको थियो । जहाँसम्म उहाँको सदस्यता नवीकरणको कुरा उहाँ पार्टीको नेता कार्यकर्ता पनि हुनु भएको हुनाले र सधैं एमालेको हित र उन्नतिमा साथ दिने गार्जेन पनि भएकाले त्यस बाटोबाट आफ्ना विचार÷आकांक्षा र सोचलाई त्यताबाट ल्याउनुपथ्र्यो । तर, त्यो रूपमा विषय आएन । सार्वजनिक कार्यक्रममा सक्रिय राजनीतिमा आउँदैछु भन्नुभयो । र, म पार्टी अध्यक्षकै निम्ति आउँदैछु भनेर भित्रबाट हैन बाहिर मिडियाबाट आउनुभयो । जुन कुरा पार्टीले अपेक्षा गरेको थिएन । त्यो पद्धतिभित्र पनि पर्दैनथ्यो ।’
पार्टीको उपाध्यक्ष र सदस्यता त्यागेर राष्ट्रपति बनेको भन्दै उनले भण्डारीले दुवै कार्यकालमा असाध्यै राम्रो छविका साथ राम्रो उचाइबाट राष्ट्रको अभिभावकत्व निर्वाह गरेको बताउँदै सारा नेपालीले कदर गरेका छन् प्रशंसा गरेको र पार्टीले पनि कदर गरेको शेरधनको भनाइ छ ।
View : 636
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved