Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

आँगनको सरकार

वडा नम्बर १ : सुविधायुक्त कार्यालयबाट सेवा लिन सहज

वडाले १२ कठ्ठा जग्गामा ज्येष्ठ नागरिक पार्क निर्माणलाई अघि बढाएको छ । हृदयेन्द्र बाल उद्यान निर्माणको क्रममा रहेकोले सम्पन्न भएपछि वडावासीलाई घुमिफिर गर्ने, टहलिने स्थानका रुपमा विकास हुनेछ । यस वडामा विभिन्न मठमन्दिर ९ वटा  छन् । एउटा मस्जिद छ । परोपकारघाटमा परमार्थ सिंघीया आरती सुरु भएका कारण यस क्षेत्रमा धार्मिक गतिविधि अझ फैलिएको छ ।
उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटा वडाहरू मध्ये १ नम्बर यस्तो वडा हो जहाँ भर्याङ चढ्न असहज हुने वडावासीहरूलाई लिफ्ट चढेर आफूले सेवा लिने कक्षामा पुग्न सक्दछन् । पहिलेको साँघुरो कार्यालय भवनको साटो अहिले महानगरमै सुविधा सम्पन्न वडा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । 

वडामा पहाडी समुदायका विभिन्न जातजातिको बाक्लो बसोबास छ । वडा नम्बर १ महानगरको आवास क्षेत्रका रुपमा विकास भएको छ । यहाँ ३ हजार ५०० घरधुरी छन् । सो वडाको जनसंख्या १४ हजार ४६४ मा पुरुष सात हजार ६९  र महिला ७ हजार तीन सय ९४ छन् । 

गत वर्ष १०२ घरधुरी यसै वडामा थपिएकोले बसाई सरेर आउनेको चाप बढेर सेवा प्रवाहको क्षेत्र पनि विस्तार भएको छ ।

यस वडामा शिक्षा क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयको डीन कार्यालय र मातहतका क्याम्पसहरू, जिल्लाकै शान्ति सुरक्षा हेर्ने निकाय जिल्ला प्रहरी कार्यालय, ऐतिहाँसिक राधाकृष्ण रथयात्रा निस्किने राधाकृष्ण मन्दिर छ ।

शान्तिचोकबाट उत्तरमा साक्षात देवी पाथीभराको मन्दिर (मातासमेत बस्ने गरेको) छ ।

वडाले १२ कठ्ठा जग्गामा ज्येष्ठ नागरिक पार्क निर्माणलाई अघि बढाएको छ । हृदयेन्द्र बाल उद्यान निर्माणको क्रममा रहेकोले सम्पन्न भएपछि वडावासीलाई घुमिफिर गर्ने, टहलिने स्थानका रुपमा विकास हुनेछ ।

यस वडामा विभिन्न मठमन्दिर ९ वटा  छन् । एउटा मस्जिद छ । परोपकारघाटमा परमार्थ सिंघीया आरती सुरु भएका कारण यस क्षेत्रमा धार्मिक गतिविधि अझ फैलिएको छ । यहीं किरियापुत्री भवनसहितको व्यवस्थित संरचना बनाइएको छ । 

यस वडामा कोशी हेल्थ इन्टिच्यूट पनि छ । साथै, साना ठूला गरी केही उद्योगधन्दा पनि छन् ।

वडामा कालोपत्रे सडकको लम्बाई बढ्दै गएको छ । हालसम्म करीव १५ किलोमिटर सडक कालोपत्रे भइसकेको जनाइएको छ । वडाबासीलाई अँध्यारो सडकमा हिड्नु पर्ने अवस्थाको अन्त्य गर्न अहिलेसम्म एक हजार ३०० वटा पोलमा सडक बत्ती जडान गरिसकेको छ । 

वडामा गत आर्थिक वर्ष २०८१–८२ मा २ करोड २१ लाख रुपैया“ बजेट कार्यान्वयन भएकोमा चालु आर्थिक वर्षमा पनि त्यति नै बजेट विनियोजन भएको छ ।

शिक्षा क्षेत्र

शिक्षा क्षेत्रतर्फ विराटनगर–१ मा राधाकृष्ण भूपालमानसिंह मावि, सयपत्री आवि, शिव आवि गरी ३ वटा सामुदायिक विद्यालय छन् । ६ वटा संस्थागत विद्यालय छन् । 

सार्वजनिक पुस्कालयका रुपमा बिष्णुमाया पुस्तकालय छ । यस पुस्तकालयमा सुविधा सम्पन्न सेमिनार हल र आवास कक्षको समेत व्यवस्था रहेकोले वडावासीसहित जो कोहीलाई कुनै कार्यक्रम आयोजना गर्नुपर्दा सहज भएको छ ।

वडा कार्यालयले शैक्षिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ । 

गत बर्षमात्रै राधाकृष्ण भूपालमानसिंह माविलाई दुईथान ल्यापटप सहयोग प्रदान गरिएको वडा समितिका सदस्य मोहन कर्ण कार्कीले बताए । 

त्यस्तै शिव आविमा दुई लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको बताए । सयपत्री आविमा दुई लाख रुपैयाँ बराबरकै फल्स सिलिङ, वाइरिङ र रङरोगनको कार्य गरिएको जनाइएको छ ।

डुबान नियन्त्रणमा बजेट अभाव

यस वडाका केही स्थानमा डुबानको समस्या रहेको छ । यसलाई समाधान गर्न हामीले सिंघिया ड्रेन निर्माण गर्न महानगरदेखि प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेको वडाध्यक्ष काजी बहादुर बस्नेतले बताए । 
उनले सिंघिया खोलाको बाढीबाट बच्नका लागि तटबन्धका लागि आवश्यक बजेट व्यवस्थापनका लागि आग्रह गरिरहेको जानकारी दिए । तर सम्बन्धित निकायहरूले अहिलेसम्म बजेट दिन सकेको छैन ।

लक्षित वर्गमा सहयोग

वडाले गत आवमा ४७ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । अघिल्लो बर्ष १८० जनालाई सम्मानित गरेको थियो । वडाभित्र बसोबास रहेर ८० वर्ष पुगेका व्यक्तिहरूलाई घरैमा पुगेर पंखा उपलब्ध गराएको छ ।

त्यसैगरी महिला लक्षित कार्यक्रम अन्तरगत दलित महिलालाई क्षमता विकास तालिम प्रदान गरेको छ । 

महिलाहरूलाई नै परालको चप्पल बनाउने तालिम, घरेलु साबुन, फिनेल, हर्पिक बनाउने तालिम पनि प्रदान गरेको छ । 

जनप्रतिनिधि

विराटनगर महानगरपालिका–१ को वडाध्यक्ष काजीबहादुर बस्नेत रहेका छन् । त्यसैगरी सदस्यहरूमा खुश्वु विक, लक्ष्मीदेवी राइनी, सुशील गुभाजू र मोहन कर्ण कार्की रहेका छन् ।

तिनपैनीमा वडा कार्यालय रहेको छ । वडा कार्यालयमा १५ जना कर्मचारी कार्यरत रहेका छन् । यस वडामा करीव तीन हजार पाँच सय घरधुरी रहेको छ । कालोपत्रे सडक १५ किलोमिटर, ढलाई गरेको सडक करीव ५ किलोमिटर र ग्राभेल सडक ९ किलोमिटर रहेको छ । 


‘३८ वटा टोल संगठनसँग मिलेर काम गर्छौं’

काजीबहादुर बस्नेत
वडाध्यक्ष

वडामा योजना छनोट गर्दा को को सरोकारवालालाई सहभागी गराउनु हुन्छ ?

हामी आफैं जुटेर वडामा रहेका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, टोल समिति र आवश्यकता अनुसार स्थानीय वडावासी समेत बसेर योजना तयार पार्छौं । योजना छनोट गर्दा अघिल्लो वर्ष कार्यान्वयन गर्न नसकिएका योजनालाई समेत प्राथमिकतामा राख्छौं । 

उपभोक्ता समितिले गरेको कामलाई जवाफदेही बनाउनु हुन्छ ?
उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काममा उनीहरूलाई नै जिम्मेवार बनाउँछौं । ठेक्का लागेका योजनामा पनि वडावासीलाई चनाखो गरी अनुगमन गर्न आग्रह गर्दछौं । हामी पनि अनुगमन गर्छौं । आवश्यकता अनुसार प्राविधिकको तर्फबाट पनि अनुगमन गराएर हरेक कामलाई जवाफदेही बनाइन्छ ।

उपभोक्ता समितिमार्फत गराउने कामलाई कसरी सहजीकरण गर्नुहुन्छ ?
यहाँ एउटा ठूलो समस्या आउन थालेको छ । विभिन्न ऐन नियमका नाममा उपभोक्ता समितिले अब कामै गर्न नसक्ने अवस्था बनेको छ । धेरै झन्झटिलो प्रक्रिया बनाइएको छ । कतिपय अवस्थामा त उपभोक्ता समितिको कामै छैन जस्तो अवस्था सिर्जना भएको छ । 

तपाईंको वडामा निर्माण व्यवसायीले चैं समयमा काम गर्छन् ?
ठेकेदारले कामै गर्दैनन् । हामीले वडा कार्यालयसँगै निर्माण सुरु गरेको बाल उद्यान अहिलेसम्म सम्पन्न भएको छैन । गत बैशाखमै यो बाल उद्यान बनिसक्नु पर्ने थियो । सडक कालोपत्रेको ठेक्कामा झन ठूलो गैरजिम्मेवारी प्रस्तुत हुने गरेको छ । बालुवा माटोको काम छिटो गर्ने तर अन्तिम समयमा कालोपत्रेको काम छाडिदिने प्रवृत्ति निर्माण व्यवसायीमा बढ्दै गएको छ । ठेक्का हाल्ने बेलामा घटेर हाल्छन् अनि घाटा भएको बहाना बनाएर कामै गर्दैनन् । कतिपय त कामै छाडेर भाग्छन् । 

यस्तो अवस्थामा त वडाको विकासको काम झनै चुनौतीपूर्ण हुनसक्ला, कसरी काम गर्नु हुन्छ त ?
हामीले वडाभरी टोल समूहहरू ब्यूँताएका छौं । हाम्रो वडामा निस्क्रिय रहेका ३८ वटा टोल समूहलाई अब वडाको विकास निर्माणको अनुगमनमा परिचालन गर्छौं । उनीहरूसँग मिलेर काम गर्छौं ।

 

‘हामीले सेवाग्राहीको मर्म बुझेका छौं’

सुमन दाहाल
वडा सचिव

आफ्नो जिम्मेवारी कसरी पूरा गर्दै आउनु भएको छ ?
वडा सचिवले नगर परिषद्बाट स्वीकृत भएर वडामा कार्यान्वयनका लागि आएका योजनाको कार्यान्वयन गर्ने र दैनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्नुपर्ने मुख्य दायित्व रहन्छ । यो हामी हामी कर्मचारीले जनप्रतिनिधिहरूसँग समन्वय गरेर गर्दै आएका छौं ।

वडाको विकास निर्माण काम कसरी हुने गरेको छ ?
वडा कार्यालयले गर्ने धेरै काम स्थानीय वडावासीको संलग्नतामा उपभोक्ता समितिबाट गर्नुपर्ने हुन्छ । जनताको सहभागिता समेत आवश्यक पर्ने भएकोले हामी उपभोक्तालाई जागरुक बनाएर विकासका काम गरिरहेका छौं । अर्कोतिर ठूलो पूर्वाधार निर्माणको काम टेण्डरको प्रक्रियाबाट हुने गर्छ । यससम्बन्धि जानकारी हामी सार्वजनिक सूचना पाटीका माध्यमबाट वडाबासीलाई जानकारी गराउने गरेका छौं ।

वडा कार्यालयमा उपस्थित हुने जनप्रतिनिधिहरूसँग कसरी समन्वय गर्नुहुन्छ ?
म यस वडा कार्यालयको सचिव भएर आएको एक वर्ष भयो । म आएदेखि अहिलेसम्मको अवस्था हेर्दा यहाँ वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा ‘ग्याप’ देखेको छैन । वडावासीलाई जनप्रतिनिधिबाट गर्नुपर्ने हरेक सहयोग गरिरहनु भएको छ । वडाध्यक्ष त नियमितमै आउनु हुन्छ नै । वडा सदस्यहरू समेत आइरहनु हुन्छ । उहाँहरू विहान १० बजदेखि बेलुका ५ बजेसम्मै वडामा बसेर वडावासीलाई सहयोग गर्नुहुन्छ ।

विवाद तथा गुनासोको समाधान कसरी गर्नुहुन्छ ?
हामीले सेवाग्राहीको मर्म बुझेर काम गर्छौं । जनप्रतिनिधिहरूसँग नियमित समन्वय गर्छौं । केही बिषयमा विवाद देखिंदा सबै जना बसेर सरसल्लाह गरेर सेवाग्राहीको समस्यालाई समाधान गरिदिन्छौं । 

View : 427

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved