Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगर अधिवेशन

ढकाल–थापाले तयार पारे बलराम नेतृत्वको प्यानल

उद्‌घोष सम्वाददाता
२ वैशाख २०८२, मङ्गलवार

विराटनगर । पार्टी संस्थापनको दुहाई दिएर एमाले मोरङभित्रको शक्ति संघर्षमा भित्ता पुर्‍याउन खोजिएका नेता विनोद ढकाल र युवा नेता सागर थापा आफ्नै बलबुताले पुनः एमालेको शक्तिमा फर्किइसकेका छन् । 

सोही कारण अहिले ढकाल–थापाले जिल्लाको नेतृत्व स्थापित गरेका कारण आफूहरू संस्थापन भएको सन्देश तल्ला कमिटीहरूमा स्वतः पुर्‍याउन चाहन्छन् । 

थापा ढकालकै साथ पाएर जिल्ला कमिटीको उपाध्यक्षमा सानदार जित हाँसिल गरेर शक्तिमा फर्किएका छन् । थापाले महानगर कमिटीको अध्यक्ष भएकै बेलामा तत्कालिन पार्टी नेतृत्वबाट पाखा लगाउने प्रयासका वावजुद पुनः शक्तिमा उदाइसकेका छन् । 

सोही शक्ति आर्जनका कारण थापा मंगलबारदेखि सुरू हुने महानगर कमिटीको दोस्रो अधिवेशनमा आफ्नो पक्षलाई स्थापित गराउने अधिकतम् प्रयासमा देखिएका छन् ।

वर्तमान् महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले आफ्ना समर्थक प्रतिनिधिसहित निकट पार्टी नेतृत्वको उपस्थितिमा आइतबार विराटनगरमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 

लगत्तै थापाले पनि सोमबार विराटनगर–१३ स्थित क्षेत्र नम्बर ५ (ख) को कार्यालयमा समर्थक भेला पारेर कोइराला नेतृत्वकै वर्तमान कमिटीको सचिव रहेका बलराम गिरी (नवीन) लाई अध्यक्ष पदको उम्मेदवार घोषणा गराएका हुन् । दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । त्यसका लागि पार्टीका नेताहरूसहितको उपस्थितिमा आफूले महानगर कमिटीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको गिरीले समेत स्पष्ट पारे । 

नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको कार्यक्रममा आफूसहित प्यानलै उम्मेदवारी टुंगो लगाइसकेको उनले जानकारी दिए । 

‘रोहित जीले जस्तो ठूलै कार्यक्रम त गरेनौं, खासमा हामीले फर्मल गरेनौं ? तर कार्यकर्ताहरूको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छौं’ गिरीले भने, ‘१३ नम्बर वडामा घोषणा गरिएको हो, बढी समय शुभकामना कार्यक्रम तथा भेटघाटमा बितायौं, रोहित जीसँग एउटै कमिटीमा रहेका कारण निकै स्वस्थ प्रतिष्पर्धा हुने विश्वास गरेको छु ।’

गिरीले कार्यकर्ताको म्यान्डेट अनुसार आफू अघि बढ्ने बताए । उनले अधिवेशनलाई स्वस्थ्य बनाउन आफूले सवै प्रयास गर्ने बताए । 

विगतमा पार्टीभित्र विभिन्न प्रकारका कारवाहीका प्रकरणले महानगरको राजनीति नै अस्थिर बनेको गिरीको भनाइ छ । उनले माथिल्लो जिम्मेवारीमा अपग्रेड हुन खोज्नुलाई स्वाभाविक प्रक्रियाका रूपमा कार्यकर्ताहरूले बुझ्ने दाबी गरे । ‘मेरो दाबी स्वाभाविक भएकोले सवै कार्यकर्ताले रूचाउनु हुन्छ भन्ने विश्वास छ’ उनले भने ।

ढकाल–थापाले गिरीको नेतृत्वमा सोमबार प्यानलै तयार पारिसकेको जनाइएको छ । महानगर कमिटीको उपाध्यक्षमा सुभाषकुमार न्यौपाने (सुरज), सचिवमा सचिव विज्ञान शर्मा चापागाईं, उपसचिवमा हमिद आजाद र हिमा मैनानी (पोखरेल) को उम्मेदवारी निश्चित भएको जनाइएको हो ।

सोमबार गिरीको नेतृत्वमा उम्मेदवारी घोषणा गर्दा थापाले बहुमत प्रतिनिधि आफ्नो टिममा रहेको ‘ब्रिफिङ’ गरेका थिए । 

थापाले कोइराला पक्षले उम्मेदवारी घोषणा गरेका कारण आफ्नो पक्षबाट पनि घोषणा गर्नुपरेको बताएका थिए । 

‘नवीन पार्टी बचाउने अभियानमा छन्, बचाउने अभियानमा लागेकोलाई अघि बढाउने कि सिध्याउनेलाई ?’ थापाले भनेका थिए, ‘अप्ठेरो पर्यो भने केही व्यक्ति अहिले पनि पर्दा पछाडिबाट अधिवेशन सार्ने रणनीतिमा लागेका छन्, होसियार रहनु होला ।’

कार्यक्रममा उपस्थित एमालेका एक कार्यकर्ताका अनुसार थापाले कोइरालाको पक्षमा रहेका प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका पर्शुराम बस्नेतलाई लक्षित गरेर यस्तो भनेको बताए ।

यसअघि ढकाल पक्षमा भएकै कारण सागर थापामाथि खानेपानी आयोजनाको उम्मेदवार उठाएर प्रचार प्रसारमा संलग्न रहेको आरोपमा कारवाही गरिएको थियो । 

कारवाही खेपेर पुनः पार्टीभित्र स्थान तयार पारेका थापालाई समेत महानगर अधिवेशन आफ्नो पक्षमा पार्ने पहाडजस्तै चुनौती छ । 

सर्वसम्मत नेतृत्व चयनको विकल्पमा अध्यक्षको बलियो दाबेदार मानिएका गिरी अब ढकाल–थापाको टिमबाट उम्मेदवार बनिसकेपछि उनलाई पार्टीको माथिल्लो नेतृत्वको थप समर्थन जुटाउने चुनौती छ । 

स्रोतका अनुसार गिरीलाई कोशी प्रदेशका मुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले समेत समर्थन गर्ने उनी निकटको दाबी छ ।

महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन भने कोशी प्रदेश इञ्चार्जसमेत रहेका अर्का स्थायी कमिटी सदस्य शेरधन राईले गर्दैछन् । महानगर अधिवेशन पार्टी कार्यालय पाञ्चालीमै हुने जनाइएको छ ।

अधिवेशनमा १९ वडाबाट २ सय २० जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यस्तै जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । थप १५ जना भने वर्तमान कमिटीले मनोनित गर्ने जनाइएको छ ।

View : 1781

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved