विराटनगर । काठमाडौंमा सम्पन्न भएको पावर लिफ्टिङ प्रतियोगितामा विराटनगरकी सुस्मिता लेप्चाले तेस्रो हुँदै पदक जितेकी छन् । लेप्चाले महिला पावर लिफ्टिङमा विराटनगरको तर्फबाट पहिलो पदक ल्याउन सफल भएकी हुन् ।
अक्स स्ट्रेन्थले यही साउन १८ र १९ गते काठमाडौंमा आयोजना गरेको ‘अक्स क्लासिक, किङ अफ दि रिङ’ प्रतियोगितामा विराटनगर ३ की लेप्चाले तेस्रो स्थान हासिल गर्दै पदक थापेकी हुन ।
लेप्चाले यु ६३ श्रेणीतर्फ ६६ दशमलव २० अंक हासिल गर्दै पदक जितेकी हुन् । उनी विराटनगर ४ मा रहेको को अर्बन स्पोर्ट्सको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी थिइन् ।
लेप्चाले पदक थापेसँगै अर्बनले उनलाई सम्मान गरेको छ । अर्बनले एक कार्यक्रमको अयोजना गरी उनलाई सम्मान गरेको हो । अर्बन स्पोर्ट्सका अध्यक्ष सागर ढुंगाना र प्रवर्द्धक कपिल अग्रवालले लेप्चालाई खादामालासहित सम्मान गरे । सो अवसरमा बोल्दै लेप्चाले विराटनगरको तर्फबाट पावर लिफ्टिङमा आफूले पहिलो पटक पदक थाप्न सफल भएकोमा खुशी लागेको बताइन् ।
अर्बन स्पोर्ट्सका प्रवर्द्धक अग्रवालले लेप्चाले पदक थापेर ल्याउनु अर्बनका लागि मात्र नभई सिंगो विराटनगरवासीका लागि गर्वको बिषय भएको बताए ।
प्रतियोगितामा काठमाडौंकी सविता हेजू प्रथम र तारा सुवाल दोस्रो भएको जनाइएको छ । यस्तै पुरुषतर्फ काठमाडौंका विकेश श्रेष्ठ, विकेन जोशी र दिपेश श्रेष्ठ प्रथम, दोस्रो र तेस्रो भएको आयोजक क्लबका प्रशिक्षक निशान थापाले जानकारी दिए ।
View : 340
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved