Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले विराटनगरका अध्यक्ष थापा र उपसचिव नेपालसहित तीनजना पदबाट निस्कासित, साधारण सदस्य समेत निलम्बन (पत्र सहित)

मुकेश बुढाथोकी, सन्दीप पोखरेल र सुवास न्यौपानेसँग २४ घण्टे स्पष्टीकरण माग
उद्घोष सम्वाददाता
३२ जेठ २०८१, शुक्रवार

विराटनगर । मानगढ खानेपानी आयोजनाको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार उठाएको र प्रचार प्रसारमा संलग्न भएको आरोपमा एमाले मोरङले महानगर कमिटीका अध्यक्ष सागर थापासहित तीनजनालाई पदबाट निष्कासन गरेको छ । 

एमाले मोरङको जेठ १८ गतेको जिल्ला कमिटीको बैठकबाट संगठन कमिटीको अध्यक्षमा निर्वाचित भएका बाबुराम कार्कीले शुक्रबार थापासहित महानगर कमिटीका उपसचिव नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षको उम्मेदवार बनेका वडा नं. ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई कारवाहीको पत्र थमाएका छन् । 

कार्कीले उनीहरूलाई पार्टी कार्यालयमै बोलाएर पत्र बुझाएको जनाइएको छ । त्यसैगरी जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीसमेत सन्दीप पोखरेल र सुवास न्यौपानेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको जनाइएको छ । उनीहरूलाई मानगढ खानेपानी संस्थाको निर्वाचनमा पार्टी निर्णय विपरित क्रियाकलापमा संलग्न हुनुपर्ने आधार र कारण खुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

जेठ १९ गते भएको मानगढ खानेपानी आयोजनाको निर्वाचनमा एमाले मोरङले अघिल्लो दिन बसेको जिल्ला कमिटी बैठकबाट आधिकारिक उम्मेदवार राम बहादुर घिमिरेलाई अघि सारेको थियो । त्यसअघिसम्म जिल्ला कमिटीले अनौपचारिक छलफल गरेपनि उम्मेदवार टुंगो लगाउन नसक्दा अध्यक्षमा लालमणि भट्टराईले समेत उम्मेदवारी दिएका थिए । 

एमाले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्ष बाबुराम कार्कीसमेत सहभागी भएर जेठ ६ र ७ गतेको बैठकले घिमिरेलाई अध्यक्षको उम्मेदवार बनाउने र भट्टराईलाई उपाध्यक्ष वा सचिव मध्ये एक पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यस्तो थियो जेठ १८ गतेको जिल्ला कमिटी बैठकको निर्णय

उक्त बैठकमा महानगर कमिटी अध्यक्ष थापासमेत सहभागी भएको जनाइएको छ । तर भट्टराईले अध्यक्षमै उम्मेदवारी दिएपछि एमालेभित्र विवाद चर्किएको थियो । 

पार्टीले तोकेको उम्मेदवारको विरुद्धमा बागी विद्रोही उम्मेदवारी दिएको र प्रचार प्रसारमा सहभागी भएको आरोपमा एमालेले अध्यक्षका उम्मेदवार भट्टराई र महानगर कमिटीका उपसचिव नेपाललाई सचेत पत्र पठाउने निर्णयलाई जिल्ला कमिटीको बैठकले अनुमोदन गरेको थियो ।

पार्टी निर्णयविपरीत उम्मेदवार बनेको र प्रचार प्रसारमा सहभागी भएको भन्दै शुक्रबार एमाले जिल्ला कमिटीका अध्यक्षको हैसियतमा कार्कीले विराटनगर महानगरपालिकाका अध्यक्ष थापासहित नेपाल र भट्टराईलाई पार्टी साधारण सदस्यबाट समेत निलम्बन गरेका हुन् । 

जेठ १८ कै बैठकले मानगढ खानेपानीको निर्वाचनसम्बन्धी थप छानबिन र कारवाहीको सिफारिस गर्न शान्ति लिम्बुको संयोजकत्वमा रविन थापा र काजी बहादुर बस्नेत सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । सोही कार्यदलको सिफारिसका आधारमा थापा, नेपाल र भट्टराईको पदीय जिम्मेबारी खोसेको जनाइएको छ । साथै बुढाथोकी, पोखरेल र न्यौपानेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । 

 

कारवाहीकाे पत्रको व्यहोरा

 

मिति : २०८१।०२।३१

श्री......................... 
विराटनगर महानगरपालिका

                                         विषयः अनुशासनको कारवाही सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा मानगढ खानेपानी संस्थाको सम्बन्धमा गठित कार्यदलले सिफारिस गरे बमोजिम पार्टी विधानको धारा ८० को उपधारा ३ र ६ बमोजिम पार्टी निर्णय विपरित क्रियाकलाप गर्नु भएकोले तपाई संगठित पार्टी कमिटीको पदबाट निस्कासन र तपाईंको पार्टी सदस्यता समेत निलम्बन गरिएको व्यहोरा  जानकारी गराईन्छ ।
 

बाबुराम कार्की
अध्यक्ष
नेकपा (एमाले) जिल्ला कमिटी मोरङ

 

के छ विधानको व्यवस्था ? 

कारवाहीको घोषणा गरिएका तीनजनालाई पार्टी विधानको धारा ८० को उपधारा ३ र ६ अनुसार कारवाही हुने अवस्था उल्लेख छ । उक्त उपधारामा पार्टीको निर्णय उल्लंघन गरेमा वा पार्टीको मर्यादा र प्रतिष्ठामा आँच आउने काम गरेमा कारवाही हुने व्यवस्था गरिएको छ । त्यस्तै जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवार बनेमा पनि कारवाही हुने व्यवस्था उल्लेख गरिएको छ ।

View : 1720

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved