विराटनगर । विराटनगरमा २० जना नेवार कन्याहरूको सामुहिक बेलविवाह सुरू भएको छ । स्थानीय बगलामुखी मन्दिर, झी पूच परिसरमा सामूहिक बेलविवाह सुरू भएको भएको हो । बगलामुखी मन्दिरले बर्सेनि सामुहिक बेलविवाहको आयोजना गर्दै आएको छ ।
यसपटकको बेलविवाहमा सिक्किम, सिन्धुली, रंगेली, दमक र विराटनगरका गरी २० जना कन्या र तिनका अभिभावकको सहभागिता रहेको बताइएको छ ।
मंगलबार सम्पन्न हुने बेलविवाहको पहिलो दिन सोमबार कन्याहरूलाई गणेश पूजादेखि मण्डप घुमाउने लगायतको ९ वटा विधिहरू सम्पन्न भएको छ भने मंगलबार थप ३४ वटा विधिहरू गरेपछि बेलविवाह अर्थात ईही सम्पन्न हुने झी पुचका बरिष्ठ उपाध्यक्ष शरद श्रेष्ठले बताए ।
उनले बिगतमा झी पूचमा आयोजना हुने सामुहिक बेलविवाहमा उल्लेख्य संख्यामा सहभागिता हुने गरे पनि पछिल्लो समय अन्य स्थानहरूमा समेत सामुहिक बेलविवाह आयोजना गर्ने प्रचलन शुरू भएकाले यसपटक २० जना कन्याहरूको मात्र सहभागिता भएको श्रेष्ठले बताए ।
बेलविवाहमा सहभागी कन्याहरूको बगलामुखी मन्दिरका पुजारी राजेन्द्र राजोपाध्यायले वैवाहिक संस्कार गराइरहेका छन् । नेवार कन्याहरूको महिनावारी हुनु अघिनै बेलसंँग विवाह भइसक्नुपर्ने धार्मिक परम्परा छ ।
छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने नेवारी समुदायको मान्यता छ । विवाह सकिएपछि भने बालिकाहरूलाई ८४ व्यञ्जन सहितको नेवारी परिकार थ्याबु ख्वाउने प्रचलन छ । बेलविवाह, इहीपछि कन्याहरूले अन्य विवाहित महिला सरह पहिरन तथा शृङ्गार गर्न सक्छन् ।
स्वर्णकुमार बेलसँग विवाह गराएर भगवानको मन्दिरमा प्रवेश गराउने प्रचलन छ । इही गरेका चेलीहरू कहिल्यै पनि विधवा हुँदैनन् भन्ने विश्वास र मान्यता उक्त समुदायमा पाइन्छ ।
View : 700
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved