Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका बैंक तथा वित्तीय संस्थामा १२ प्रतिशतले निक्षेप वृद्धि, घट्यो कृषि कर्जा

उद्‌घोष संवाददाता
११ असार २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाले २०८० पुस मसान्तको तुलनामा २०८१ को पुससम्म १२ दशमलव ३ प्रतिशतले निक्षेप वृद्धि गरेका छन् । 

२०८१ को असारदेखि पुससम्मको ६ महिनामा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन पनि ३.०६ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । 

नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्धबार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार बिपे्रषण आप्रवाह, विद्युतीय कारोवारमा वृद्धि तथा बैंकिङ सेवा विस्तारका कारण निक्षेप परिचालन बढेको उल्लेख छ । 

निक्षेप बढ्दा कर्जा क्षेत्रमा २०८० पुस मसान्तको तुलनामा २०८१ पुससम्म कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको समग्र कर्जामा १० दशमलव २ प्रतिशतले कमी आएको छ । यो अवधिमा ५ खर्ब ८६ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । 

२०८० पुसमा १० दशमलव ८ प्रतिशत रहेको कृषि कर्जा २०८१ मा ९ दशमलव ७ प्रतिशतमा घटेको छ । औद्योगिक र सेवा क्षेत्रको कर्जा भने बृद्धि भएको छ । 

२०८० को पुससम्म २४ दशमलव ४ औद्योगिक कर्जा अंश रहेकोमा २०८१ मा २५ दशमलव २ प्रतिशत पुगेको छ । त्यस्तै ६४ दशमलव ८ प्रतिशत रहेको सेवा क्षेत्रको कर्जा ६५ दशमलव १ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

२०८१ असारदेखि पुससम्मको अर्धवार्षिक अवधिमा १ दशमलव २ प्रतिशतले कर्जा प्रवाह बृद्धि भएको जनाइएको छ ।

२०८१ पुस मसान्तमा कोशी प्रदेशमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ११९ प्रतिशत कायम भएको छ । यो अनुपात २०८० को पुस मसान्तमा १२१ दशमलव २ प्रतिशत रहेको थियो ।

प्रतिवेदन अनुसार कोशी प्रदेशमा २०८१ पुससम्म बाणिज्य बैंकका ७६२ शाखा संचालित छन् । विकास बैंकका १९५, वित्त कम्पनी ३६ र लघुवित्त वित्तीय संस्थाका ८५३ शाखाले वित्तीय गतिविधि गर्दै आएका छन् । 

कुल वित्तीय संस्था मध्ये मोरङमा सवैभन्दा बढी ४५० र सवैभन्दा कम ताप्लेजुङमा ३९ वटा छन् ।

View : 385

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved