राष्ट्रिय सभा निर्वाचनमा भिड्न तयार भए दुई उम्मेदवार
विराटनगर । फागुन २९ गते मंगलबार तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसबाट दुई उम्मेदवार निश्चित भएका छन् ।
राष्ट्रिय सभा अध्यक्षकै लागि कांग्रेससँगको गठबन्धन तोडेको माओवादीले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाहाल प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका भाई हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
त्यसैगरी नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार उनकै निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारी तय गरेको जनाइएको छ ।
बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग छलफल गर्ने समेत निर्णय गरेको कांग्रेस स्रोतले जनाएको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
माओवादी पदाधिकारी बैठकमा भने प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने सम्बन्धमा थप छलफल गरेको थियो ।
View : 210
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved