Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा बाली खाएर हैरान बनाउने ९ वटा साँढे कोशी टप्पु पुर्‍याइए

उद्घोष सम्वाददाता
२ फागुन २०८०, बुधवार

विराटनगर । विराटनगरको दक्षिणी भेगका किसानले नियन्त्रणमा राखेका साँढेलाई उद्धार गरी स्थानान्तरण गरिएको छ । किसानले नियन्त्रणमा लिएका ती साँढेलाई विराटनगर महानगरपालिकाको पहलमा कोशी टप्पु आरक्ष क्षेत्रमा लगेर छाडिएको छ । 

खेतमा लगाएका बाली खाईदिने समस्याबाट आजित भएका किसानले माघ २४ गते नियन्त्रणमा लिएर साढेहरु बन्दी बनाएका थिए । किसानहरुले भेडियारीमा रहेको विराट राजाको प्राचीन दरवारस्थलको धरहवा पोखरी परिसरमा साढेलाई थुनेर राखेका थिए ।

थुनेर राखिएको ६ दिनपछि साँढेहरुलाई महानगरपालिकाका नगर रक्षक र स्थानीयको टोलीले ना ५ ख ७१३० नम्बरको ट्रकमा चढाएर आरक्ष क्षेत्रतर्फ लिएर गएको थियो । साँढेहरुलाई उद्धार गर्ने क्रममा मानिस र साँढेबीच घम्साघम्सीसमेत परेको थियो ।

प्रायजसो डार्ट गरी बेहोस बनाएर वन्यजन्तु स्थानान्तरण गर्ने गरिए पनि त्यसो नगरी मानिसहरुको हुलले घेराबन्दी गरी डोरीले बाँधेर साँढेलाई नियन्त्रणमा दिइएको थियो । डोरीले बाँधेर साँढेलाई काबुमा लिएपछि स्थानीय तथा किसानहरुको समूहले ठेलेर ट्रकमा चढाएका थिए । 

हुलका हुलमा देखिएका साँढेहरुले सो क्षेत्रमा ५ बर्षयता किसानले खेतमा लगाएका बाली खाइदिएर निरन्तर दुःख दिंदै आएको किसानहरुले बताएका छन् । ‘डार्ट’ प्रयोग गर्दा  साँढेहरुलाई प्रतिकुल असर हुनसक्ने ठानेर मानवीय बलको प्रयोग गरी साँढेको स्थानान्तरण गरिएको विराटनगर–१८ का वडाध्यक्ष जीतेन्द्र साहले बताए । 

बन्दी बनाइएका १० साँढे मध्ये ९ वटालाई स्थानान्तरण गरिएको छ भने एउटा साँढे किसानले गाउँमै राख्न सहमत भएका छन् । उन्नत प्रजातिको एउटा साँढे बीउ प्रयोजनका लागि गाउँमै राखिएको विराटनगर–१८ का स्थानीय राजदेव यादवले जानकारी दिए ।

View : 103

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved