Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले प्रदेश अध्यक्ष खतिवडाको टिप्पणी

‘कोशी सरकार राजनीतिक बेइमानीको नमूना हो’

उद्‌घोष संवाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको प्रदेश सरकार राजनीतिक बेइमानीको नमूना भएको आरोप लगाएको छ ।

मुख्यमन्त्री कार्कीले पछिल्लो पटक अध्यादेशमार्फत स्वार्थ समूहहरूलाई संरक्षण गरेको र कानुनहरूलाई तोडमोड गर्ने कामको नेतृत्व गरेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले टिप्पणी गरेका छन् । 

‘मुख्यमन्त्री कार्कीले लगातार राजनीतिक बेइमानीको नेतृत्व गरेका छन्, बेइमानीको नमूना बनेका छन्’ उनले भने, ‘कानुन तोडमोड गर्ने कामको नेतृत्व गरेका छन्, कानुनलाई तजविजी अधिकारका रुपमा प्रयोग गरेका छन्, लोकतन्त्रलाई नै कमजोर पार्ने काम गरिरहेका छन् ।’

मुख्यमन्त्री कार्कीले जथाभावी रकामान्तर गरिरहेको समेत खतिवडाले आरोप लगाए । एमालेकै मेहनतमा मुख्यमन्त्री बनाएको बताउँदै उनले पटक–पटक राजनीतिक बेइमानी गरेको बताए । खतिवडाले वर्तमान सरकारप्रतिको धारणा चाँडै सार्वजनिक गर्ने र नयाँ राजनीतिक निकासको प्रयास सुरु गर्ने समेत बताए ।

उनले कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा जिल्ला अधिवेशन हुने क्रम सुरु भएकोले प्रदेश कमिटीले आवश्यक सहजीकरण गर्दै जाने बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने मुख्य उद्देश्यका साथ ‘मिसन–८४’ अभियान अघि बढाएको जानकारी दिए ।

खतिवडाले पार्टीले मध्यपहाडी राजमार्ग केन्द्रीत गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अभूतपूर्ण रुपमा सफल भएको दाबी गरे । उनले कोशी प्रदेशमै ठुला–ठुला सभा आयोजना भएकोले एमाले बलियो पार्टीका रुपमा स्थपित गराएको बताए ।

आफू नेतृत्वको प्रदेश कमिटी चयन भएपछि कमिटी अन्तरगतका विभागहरू चयन गर्दै ती विभागहरूलाई पूर्णता दिने काम चाँडै सुरु गरिने जानकारी दिए ।

View : 492

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved