Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

महानगरको अर्धबार्षिक समीक्षा : लक्ष्यको ३५ प्रतिशत मात्रै आम्दानी

महानगरले चालु आर्थिक बर्ष २०८१–०८२ मा ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय हुने अनुमान गरेको थियो । तर चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैया अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको जनाएको छ । पहिलो छ महिनाको तथ्यांक हेर्दा महानगरले आफ्नो लक्ष्य भेट्टाउन गाह्रो हुने देखिएको छ ।
उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशनले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राख्ने निर्णय गरेको छ । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको जनाइएको छ ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गरेकी थिइन् । 

उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैया अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको  विवरण सार्वजनिक गरिन् । 

चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो । त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ । उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पूँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ । 

त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै संकलन भएको छ । 

राजस्व बाँडफाँटबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कूल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको जनाइएको छ ।

त्यसैगरि अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । 

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताए । सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको मेयर कोइरालाको भनाइ थियो । 

बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यान, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । 

बितेको अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेनिङ वाल निर्माण सम्पन्न गरेको मेयर कोइरालाले बताए । 

अधिवेशनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले प्रस्तुत गरेको एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक २०८१ पारित भएको छ । त्यसैगरि सबै विषयगत समितिका संयोजकहरूले चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म गरेका उपलब्धिहरू प्रस्तुत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले चालु आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्ने अवस्था नदेखिएकाले कार्यक्रम र योजनाको शीर्षक मात्रै संशोधन गरिएको बताए ।

View : 90

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved