Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

टुहुराको सहारा बनिन् ७५ वर्षीया मन्तिदेवी

नवीन कर्ण
३० साउन २०८१, बुधवार

मोरङको रतुवामाई, इटहरा बजारतर्फ चटपटेको ठेला गुडाएर लैजादै गरेका ७५ वर्षीय मन्ति यादव र उनका नातिनीद्वय १३ बर्षीया राधा र ७ बर्षीया पायल ।  तस्वीर: नवीन कर्ण/उद्घोष

Advertisement

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाकी ७५ वर्षीया एकल ज्येष्ठ नागरिक महिला मन्तिदेवी यादव टुहुरा नातिनीहरुको सहारा बनेकी छन् । जीवनको उत्तरार्द्धमा आफैं बेसहारा मन्तिदेवीले कठोर परिश्रम गर्दै छोरीहरुको नासोलाई सहारा दिनुका साथै भरणपोषण गरिरहेकी छन् ।

यो संघर्षमय कथा मोरङको रतुवामाई नगरपालिकाकी दुई नाबालिका र एकजना ज्येष्ठ एकल महिलाको हो । जो अभिभावक विहीन छन् । उनीहरु ठेलामा चटपटे बेचेर जीवनयापन गरिरहेका छन् । कथाकी मुलपात्र हुन् रतुवामाई नगरपालिकाकी मन्तिदेवी यादव । जीवनको उत्तरार्द्ध ७५ बर्षको उमेरमा मन्ति आफै बेसहारा छिन । ३ छोरीहरुकी आमा मन्तिका श्रीमान सिंहेश्वर यादवको ३५ वर्षअघि निधन भयो ।

उतिखेर उनको सुगा बजारमा १० धुर जग्गासहित घर र चिया पसल थियो । श्रीमान सिंहेश्वर पसल चलाएर ३ छोरी र श्रीमतीको पालनपोषण गर्दै आएका थिए । उनीहरुले जेठी छोरी विमलाको बिहेसमेत गराए । त्यसको केही वर्षपछि विरामीले थलिएका मन्तिका श्रीमानको उपचार अभावमा मृत्यु भयो । श्रीमानको मृत्युपछि दुई अविवाहित छोरीहरुको दायित्व मन्तिदेवी माथि आइपर्‍यो । 

मन्तिदेवी अभिभावक विहीन भएपछि ससुराको उपचारमा ऋण लागेको भन्दै ज्वाँईले भएको घरजग्गा समेत आफ्नो नाममा पारेपछि उनी बेघर भइन् । त्यसयताको २५ वर्षदेिख उनी सुगा बजार छाडेर इटहरामा कोठा भाडामा लिएर बस्दै आएकी छन् । मन्तिको वर्तमान झन् संघर्षमय र पीडादायी छ ।

मन्तिदेवीकी माइली छोरी बेचनी अपाङ्गता भएकी छन् । उनको विवाह भारतको मुजफ्फरपुरका एक युवकसँग भयो । केही समय घरज्वाईं बसेका युवक छोरीलाई गर्भवती बनाएर बेपत्ता भए ।

समयक्रम अघि बढ्दै जाँदा माइली छोरीबाट राधाको जन्म भयो । राधा ४ महिनाको हुँदै गर्दा बेचनीको पनि निधन भयो । छोरीको निधनपछि नातिनिको दायित्व पनि मन्तिदेवीमाथि नै आइपर्‍यो । यतिखेर राधा इटहराको सरस्वती माविमा कक्षा ६ मा अध्ययन गर्छिन् । उद्घोषसँग कुराकानी गर्दै राधाले भविष्यमा आफूलाई पढेर डाक्टर बन्ने इच्छा रहेको बताइन् । 

उनले आफ्नो जन्मदर्ता नरहेकाले विद्यालयका शिक्षकले जन्मदर्ता बनाउन भनिरहे पनि वडा कार्यालयले जन्मदर्ता नदिएको बताएकी छन् । बाबु बेपत्ता रहेकाले आफू कैंयौं पटक वडा कार्यालय धाउदा पनि वडा कार्यालयले जन्मदर्ता दिन नमानेको राधाको भनाइ छ ।  

राधा पढ्नमा मेधावी विद्यार्थी रहेको उनी अध्ययनरत इटहरास्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका सीता पौडेलले बताइन् । उनको जन्मदर्ता समेत नरहेको शिक्षिका पौडेलले बताएकी छन् । उनको विपन्नता र अवस्था हेरेर विद्यालयले कक्षा १ देखि पढाउँदै आए पनि जन्मदर्ता नरहेकाले कक्षा ८ पछिको पढाइमा समस्या हुनसक्ने उनले बताइन् । 

मन्तिदेवीकी कान्छी छोरी तारा पञ्जाबमा बस्छिन् । उनलाई पनि श्रीमानले छाडिदिएपछि सम्पर्कविहीन छिन् । ताराकी ७ बर्षीया छोरी पायल पनि हजुरआमा मन्तिसँगै बस्छिन् । उनी कक्षा ३ मा पढ्छिन् । हाल दुवै नातिनीहरु विद्यालयबाट बचेको समयमा हजुरआमालाई चटपटे बेच्न सघाउने गरेका छन् । 

सरकारबाट प्राप्त हुने ज्येष्ठ नागरिक भत्ता र चटपटेको ब्यापारबाट जेनतेन जीवन चलेको मन्तिदेवी बताउँछिन् । आफूलाई हेरिदिने कोही नभएको तथा कतै एकटुक्रा जग्गा समेत नरहे पनि आफूले हुर्काउँदै गरेको नातिनीहरुले नै भविष्यमा आफ्नो रेखदेख गर्ने मन्तीले बताएकी छन् ।

View : 273

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved