कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगर– १९ स्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबारका दुई खेल समाप्ति हुँदा सुदूरपश्चिम र आर्मीले जित निकालेका छन् ।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको हो । जितसँगै सुदूरपश्चिमले अहिलेसम्म खेलका ३ खेलमा २ मा जित सुरक्षित गरेको छ । शुक्रबारको जितसँगै ४ अङ्क बटुलेर दोस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि अभिषेक पालले ५८ रन बनाउँदा प्लेयर अफ द म्याच घोषित नारायण जोशीले १२ बलमा ६ छक्का प्रहार गरि ४० रनको योगदान गरेका थिए । त्यस्तै किरण ठगुन्नाले सुदूरपश्चिमका लागि ३० रनको योगदान दिए ।
पुलिसका शरद भेषवाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठले २ विकेट लिए ।
१८४ रनको लक्ष्य पाएको पुलिसले ६ विकेट गुमाएर १३१ रन मात्रै बनाउन सक्यो । पुलिसका शंकर रानाले नटआउट ९१ रन खेले । रानाले ६२ बलमा ५ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै अभिषेक कार्कीले २० बनाए । सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले २–२ तथा नारायण जोशीले १ विकेट लिएका थिए ।
दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो । आर्मीका वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरी ४२ रन जोडे । सन्दिप रजालीले नटआउट ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । वसिर प्लेयर अफ द म्याच घोषित भए ।
कर्णालीका प्रकाश जैशीले २ विकेट लिए । त्यस्तै दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए ।
कर्णालीले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर १३२ रन मात्रै जोड्न सक्यो ।
कर्णालीका लागि दिपेन्द्र रावतले नटआउट ४७ रन खेले । रविन्द्र शाहीले २२ र विपिन रावतले १८ रनको योगदान दिए ।
आर्मीका नितेश पटेलले २ विकेट लिए । तीर्थराज दास, पवन कार्की, शहाव आलम र वसिर अहमदले १–१ विकेट लिए ।
शनिबारको पहिलो खेल कर्णाली र एपीएफ तथा दोस्रो खेल वाग्मती र लुम्बिनीबीच हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष मो. साद बाबु कुरैसीले बताए ।
View : 220
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved