Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

हेंवा खोलामा नेपालकै लामो ‘मोडुलर बेलिब्रिज’ जडान

निर्माण कम्पनी ले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो । तर बेलिब्रिज जडान अन्तिम चरणमा पुगेका समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो ।
उद्‌घोष संवाददाता
३१ साउन २०८२, शनिवार

पाँचथर । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो ।

सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् । आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार हेंवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ ।

निर्माण कम्पनी ले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो । तर बेलिब्रिज जडान अन्तिम चरणमा पुगेका समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो ।

यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनीलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो ।

भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका हुन् । बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो ।

भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको लन्चिङ सेट र पुल जडान गर्न इन्जिनियर तथा प्राविधिक रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान सम्पन्न गरेको डिई भट्टराईले जानकारी दिए ।

मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो ।

तर उक्त बेलिब्रिजसमेत ०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए ।

वर्षायाम सुरु भइसकेकाले बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको कामसमेत निरन्तर चलाएको थियो ।

नयाँ बेलिब्रिज जडानपछि हेंवा खोला उत्तरका नागरिकले तीन वर्षदेखि वर्षायाममा भोग्दै आएको सास्ती हट्ने आशा पलाएको पाँचथरको हिलिहाङका वीरेन्द्र मङ्ग्रातीको भनाइ छ ।

यस पटक बेलिब्रिज जडानसँगै सडभ विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने प्रयोगात्मक तालिमसमेत सञ्चालन गरेको थियो ।

तालिममा सडक विभागका इन्जिनियर, सबइन्जिनियर, मेकानिक र अपरेटर गरी ३२ जनाले सहभागिता जनाएका थिए । रासस

View : 409

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved