Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरको स्वास्थ्य क्षेत्रमा २५० करोड लगानी थपिंदै, उद्योगी राउतले थाले ३०० बेडको हस्पिटल निर्माण

उद्‌घोष सम्वाददाता
५ पुष २०८०, बिहिवार

विराटनगर । विराटनगरका अग्रणी उद्योगी राजेन्द्र राउतले विराटनगरमै सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी अघि बढाएका छन् । उनले ३०० बेडको लक्ष्य राखेर मोरङको बुढीगंगा गाउँपालिका–१ मा आरआर इन्टरनेशन हस्पिटल खोल्ने तयारी अघि बढाएका हुन् । 

बुधबार हस्पिटल भवन निर्माणको शिलान्यास गर्दै राउतले विराटनगरमा अहिलेसम्म सुविधा नभएको हेलिकप्टर पार्किङसहितको सुविधा सम्पन्न स्वास्थ्य संरचना निर्माणको शिलान्यास गरेका हुन् । उनले तत्काललाई १०० शैय्याको मल्टिस्पेसियालिटी हस्पिटलबाट ३०० शैय्यासम्म विस्तार हुने क्षमताको संरचनाको शिलान्यास गरिएको घोषणा गरे ।

हस्पिटल खोल्न राउत परिवार नै सक्रिय भएका छन् । आगामी ३ वर्षभित्र पूर्ण रुपमा निर्माण सकिने र २६ महिनाभित्र हस्पिटल सञ्चालन गरिसक्ने लक्ष्य राखिएको शिवम् अर्गनाइजेशनका अध्यक्ष एवं अस्पताल सञ्चालक समिति अध्यक्ष राउतले जानकारी दिए । उनले हस्पिटलले मुटुरोगको उपचारलाई प्राथमिकतामा राख्ने जानकारी दिए ।

स्वास्थोपचारका लागि काठमाडौं र भारतसम्मै पुग्नुपर्ने अवस्थाको अन्त्य गरिने उनले दाबी गरे । हाललाई १८ कठ्ठा क्षेत्रफलभित्र हस्पिटलको संरचना निर्माण सुरु गरिने जनाइएको छ । राउतले नेपालमै केही गर्छु भनेर अघि बढेका लगानीकर्ताहरूलाई लगानी जुटाउन र लगानी गर्ने वातावरण निर्माण गर्न राष्ट्र बैंकले बन्धन फुकाइदिनुपर्ने बताए ।

विराटनगरमा धेरै अस्पतालहरू सञ्चालनमा रहेको तर मुटुरोगकै विशेष अस्पताल नभएकोले कोशी प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्रतिष्पर्धी बनाउँदै गुणस्तर निर्धारण गर्न आफू तयार रहेको बताए ।

शिलान्यास सम्पन्न उक्त अस्पतालका निर्देशक एवं उद्योगी राउतकै जेठा छोरा प्रतीक राउतले मुलुकबाट बर्सेनि हजारौंको संख्यामा नेपालीहरू उपचारका लागि भारतलगायतका देशहरूमा जाने गरेको तितो यथार्थ रहेको भन्दै मातृ कम्पनी शिवम् अर्गनाइजेशनले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिए ।

‘स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनी विशुद्ध मानवीय भावनाले प्रेरित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुरुमा २०० शैय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ’ उनले भने, ‘देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तरबीचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।’

अस्पतालले जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको बताए । उनले उत्कृष्ट स्वास्थ्य सेवाको केन्द्रका रुपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने महत्वपूर्ण संस्थाका रुपमा खडा गर्न लागिएको बताए । 

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा ‘कार्डिक इमरजेन्सी’ र क्याथ ल्याब जस्ता सुविधा उपलब्ध गराउने बताए । त्यसका साथै हस्पिटलले जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टिकृत उपचार सेवा समेत उपलब्ध गराउने योजना रहेको उनले स्पष्ट पारे ।

स्वास्थ्योपचारमा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकोले डाइग्नोष्टिक विभागलाई समेत अन्तराष्ट्रिय स्तरको बनाइने प्रतिवद्धता जनाए ।

अस्पतालको सञ्चालक समिति सदस्यमा अध्यक्ष राउतकै कान्छा छोरा प्रत्यूष राउतसहित मेघराज सिग्देल र विज्ञान प्रधान लगायतको लगानी रहेको जनाइएको छ ।

औद्योगिक पृष्ठभूमि नभए पनि उद्योगी राउतले विराटनगरबाट गार्मेन्ट निर्यात उद्योगमार्फत आफ्नो यात्रा सुरु गरेका हुन् । उनी हाल चुनढुंगा खानी सञ्चालन, सिमेन्ट उद्योग, जुत्ता चप्पल, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ कारोवारमा संलग्न छन् । राउतले निकट भविष्यमै काठमाडौंमा अत्याधुनिक पाँचतारे होटल सञ्चालनको तयारी भइरहेको बताए ।

उनले विराटनगरमा पछिल्लो समयमा हाउजिङ कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवामा हात हालेका हुन् । भविष्यमा मेडिकल, पारामेडिकल र नर्सिङ कलेज स्थापना गर्ने समेतको योजना रहेको उनले सुनाएका छन् ।

View : 248

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved