Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा सुरु हुँदैछ संगीतमय श्रीराम कथा

मंसिर ६ गतेदेखि १४ गतेसम्म संगीतमय श्रीराम कथा हुने भएको छ।
उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

विराटनगर । विराटनगरको मेनरोडस्थित श्रीसत्यनारायण मन्दिरमा ब्यास कथाकार शर्मिला किशोरीद्वारा यही मंसिर ६ गतेदेखि १४ गतेसम्म संगीतमय श्रीराम कथा हुने भएको छ ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म आयोजना हुने यो कथा कार्यक्रम श्रीहरि सत्संग समितिको ग्रामीण धर्म संस्कृति संरक्षण अभियानसँग जोडिएको महत्वपूर्ण धार्मिक आयोजनाका रूपमा हेरिएको छ।

यस संस्थाले देशभर धर्म संस्कार प्रसारमा सक्रिय श्रीहरि सत्संग समितिले ग्रामीण क्षेत्रमा धार्मिक चेतना जागरणका लागि नियमित रूपमा कथा, भजन, कीर्तन तथा प्रवचन सञ्चालन गर्दै आएको छ ।

अभियानअन्तर्गत विराटनगरमा आयोजना हुने श्रीराम कथालाई भव्य रूपमा सम्पन्न गर्न वरिष्ठ समाजसेवी प्रकाशभक्त जोशीको प्रमुख संयोजकत्वमा २१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको समितिले जनाएको छ।

२०७८ सालको बसन्त पञ्चमीमा दर्ता भएको यो गैरनाफामूलक संस्था हाल कोशी, मधेश, लुम्बिनी, बागमती र सुदूरपश्चिम गरी पाँच प्रदेशका १७ जिल्लामा सक्रिय छ। ८१ जना पूर्णकालीक सेवावर्ती कार्यकर्ता तथा ग्राम नगर संगठनहरूको माध्यमबाट संस्थाले गाउँ–गाउँमा धर्म संस्कृतिको संरक्षण र जागरण अभियान सञ्चालन गर्दै आएको छ ।

जनसहयोगबाट निर्माण गरिएको श्रीहरि रथमार्फत देशभर ३ सय ९७ रात्री प्रवास गरी कथा कीर्तन तथा धार्मिक प्रदर्शनी गरेको समितिको भनाइ छ । काठमाडौं र झापा केन्द्रित अर्को नयाँ रथको लोकार्पण भने मंसिर २१ गते हुने तयारी छ ।

समितिमा हाल राष्ट्रिय अध्यक्ष भीखम चन्द सरल, महासचिव रामजीवन अग्रवाल, विराटनगर च्याप्टर अध्यक्ष घनश्याम कावरा, सम्भाग अध्यक्ष विद्यानन्द माझी र मोरङ जिल्ला अध्यक्ष ओमप्रकाश अग्रवाल रहेका छन् ।

View : 508

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved