Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जेभियर्स स्कुलको वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी सम्मानित

उद्‌घोष संवाददाता
२५ माघ २०८२, आइतवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित जेभियर्स इङ्लिस स्कुलले ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । 

शनिबार आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरीय परीक्षा, एसईई र हिसानको वार्षिक परीक्षामा पालिका भित्रमा उत्कृष्ट नतिजा दिन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 

कक्षा ८ को पालिका स्तरीय परीक्षामा छात्रतर्फ अंकित कार्की क्षेत्री, छात्रातर्फ रितु मगर, एसईईमा छात्रतर्फ विजय पौडेल र छात्रातर्फ अञ्जली दास, हिसान परीक्षामा छात्रातर्फ ललिता राजवंशी र छात्रतर्फ रोहन दाहाल उत्कृष्ट भएका थिए । 

उत्कृष्ट विद्यार्थीलाई बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विद्यालयका प्रिन्सिपल परेश पोखरेल, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतलगायतले पुरस्कृत गरे । 

सोही अवसरमा दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति खेलकुद प्रतियोगिता २०८१ मा कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पाङ्गदेनलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गाउँपालिका भित्रको शिक्षामा सुधार भएको बताए । 

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले विद्यालयले आफ्नो स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सफल भएको बताए । 

स्कुलका प्रिन्सिपल परेश पोखरेलले विद्यालयले उत्कृष्ट शिक्षा दिइरहेको बताउँदै कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने दाबी गरे । 

स्कुलकी अध्यक्ष सरिताकुमारी राना मगरले गुणस्तरीय शिक्षाका लागि स्कुलले अहोरात्र काम गरिरहेको बताइन् । 

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायनलगायतका विभिन्न विधामा प्रस्तुति दिएका थिए । जेभियर्स स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ९५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

View : 71

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved