विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो ११ घर जलेका छन् ।
गाउँमा एकैठाउँमा रहेका घरमा आगो फैलिंदा केही क्षणमै घरहरू जलेर खरानी भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।
घरहरू बाँसको टाटीबेराले बनेको र घरभित्र रहेका ग्यास सिलिण्डर फड्किंदा आगो फैलिएर बस्ती नै जलेको उनले बताए ।
इलाका प्रहरी कार्यालय नेमुवा र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीसहित स्थानीयको सहयोग विराटनगर महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
सुनील ऋषिदेव, रामदेव ऋषिदेव, सोनी ऋषिदेव, गेमु ऋषिदेव, चैता ऋषिदेव, कमलेश ऋषिदेव र तिलकु ऋषिदेव, प्रकाश ऋषिदेव, उतिम ऋषिदेव र उमा ऋषिदेवको घर जलेको हो ।
प्रहरीका अनुसार सोनी ऋषिदेवको घरबाट आगलागी सुरु भएको जनाइएको छ । विद्युत सर्ट भएर आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।
११ घर र घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा र भाडाँकुडा गरी करिव १ करोड १७ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
दैनिक ज्यालादारीमा निर्भर रहेका मुसहर समुदायको घर नै जलेपछि उनीहरू बिचल्लीमा परेको वडा सदस्य लोकनाथ चौधरीले बताए ।
उनले घरका अधिकांश पुरुषहरू ज्यालादारी कामका लागि गएका कारण घरभित्र रहेका सरसामान निकाल्न समेत नपाएको बताएको जनाइएको छ ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved