Biratnagar, Morang, Nepal
१३ माघ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सेनाका भगौडाले सीआईबी बनेर धम्की दिएपछि.....

विराटनगर–१ ठूलोमिल चोक निवासी ३० वर्षीय हेमकुमार खड्काले सीआईबीका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाको फोटोको दुरुपयोग गरेर आफू नै सीआईबीको कर्मचारी भएको दाबी गर्दै आएका थिए ।
उद्‌घोष सम्वाददाता
८ कार्तिक २०८१, बिहिवार

Advertisement

विराटनगर । नेपाली सेनाका एक जना भगौडाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखकै फोटो दुरुपयोग गरेर धम्की दिने गरेको पाइएको छ ।

विराटनगर–१ ठूलोमिल चोक निवासी ३० वर्षीय हेमकुमार खड्काले सीआईबीका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाको फोटोको दुरुपयोग गरेर आफू नै सीआईबीको कर्मचारी भएको दाबी गर्दै आएका थिए ।

उनलाई मंगलबार प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दैछ । खड्काले ट्रु कलर एपमा थापाको नाम र फोटो राखेर बिभिन्न संस्था र ब्यक्तिहरुलाई फोन गरेको पाइएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले खड्का पक्राउ परेको जनाकारी दिंदै प्रेस विज्ञप्तिमार्फत अन्य एपहरुमा पनि सीआईबीको लोगो, नाम र संकेत प्रयोग गरेर मानिसलाई धम्की दिएको पाइए प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

नेपाली सेनाको सिपाही पदबाट भागेका उनी प्रहरी सेवामा रहेका दाजुको घरमा बस्दै आएका छन् । अबिवाहित रहेका उनी दाजुको घरमै बस्दै आएको स्थानीयले बताए ।

गलत क्रियाकलापमा लागेकाले उनलाई एक पटक घरबाटै निकालिएको थियो ।

घर निकाला गरिएपछि जोगवनी गएर लागुऔषध सेवन गर्ने गरेकाले उनलाई परिवारले पुनः घरमा बोलाएको स्थानीयले बताएका छन् ।

सुध्रिन्छु भनेर परिवारलाई बचन दिएपछि उनलाई दुबई पठाइएको थियो । तर त्यहाँबाट भागेर उनी पुनः नेपाल आएका थिए । कुनै पेशा नगर्ने उनी मानिसलाई ठगेर तथा झुक्याएर लागुऔषध खाने रकम लिदै आएका थिए ।

सीआईबीको नामले मानिसहरु डराउने र मागेजति रकम दिने भएकाले उनले फोन गरेर धम्की दिन थालेका थिए । खड्काले कति जनालाई धम्क्याए र कतिबाट रकम लिए भन्ने खुलिसकेको छैन । 

मोरङ प्रहरीले अनुसन्धानका लागि अभद्र ब्यवहार मुद्दामा म्याद थप गरेको छ ।

‘उ बारे धेरै कुरा बुझ्नु पर्ने छ, कति जना पीडित भएका छन् र उसँग अरु पनि सहयोगी हुन सक्छन् भनेर अनुसन्धान गर्दैछौं’ मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले भने ।

View : 177

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved