Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

अझै पनि गगनलाई स्वीकार्न गाह्रो मान्दै डा. शेखर

शेखरको चुनावी अभियानमा बदलिएको कांग्रेस र भावी प्रधानमन्त्रीको मुद्दा किन ओझेल परेको हो भन्नेबारे  उनले सार्वजनिक रुपमा केही बताएका छैनन् ।
उद्‌घोष संवाददाता
८ फागुन २०८२, शुक्रवार

विराटनगर । पुरानो नेतृत्वलाई विशेष महाधिवेशनमार्फत बिदा गरेको कांग्रेस नेतृत्वले यसपटकको निर्वाचनमा प्राथमिकतापूर्वक अघि सारेको नारा हो, ‘बदल्यौं कांग्रेस, बदल्छौं देश ।’ देशभरका बहुसंख्यक उम्मेदवारका पोस्टरमा देखिने यो नारा मोरङ–६ मा उम्मेदवार बनेका डा. शेखर कोइरालाको प्रचार सामग्रीमा भने गायब छ । 

त्यसो र यतिबेला देशैभरीका कांग्रेस उम्मेदवारका चुनाव प्रचार सामग्रीमा सभापति गगन थापाको तस्वीर राखिएको छ । 

नयाँ पुस्तामाझ लोकप्रिय मानिने सभापति थापाको ब्रान्डिङमा सबै उम्मेदवारले उदारता देखाइरहेका बेला  कोइरालाले भने सभापति थापाको तस्वीर  प्रचार सामग्रीमा राखेका छैनन् । 

थापालाई भावी प्रधानमन्त्रीको रुपमा उनले कतै प्रोजेक्ट गरेका पनि छैनन् ।

पार्टीको केन्द्रीय समितिले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको अवस्थामा कोइरालाको यो मौनतालाई उनको असन्तुष्टिका रुपमा बुझ्न सकिने शेखर निकट नेताहरू बताउँछन् । 

‘उहाँको चुनाव प्रचारको आफ्नै मौलिक शैलि छ’ शेखर निकट कांग्रेस कार्यकर्ताहरुको दाबी छ, ‘गगन थापा र उहाँबीच समस्या छैन । सभापति बन्न नपाएको, गगनले पछि पारेको व्यक्तिगत अनुभूति भएको होला ।’

शेखरबाहेक कोशी प्रदेशका धेरै उम्मेदवारले भने गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिरहेका छन्, उनको तस्वीरलाई मत माग्ने अस्त्रका रुपमा प्रयोग गरिरहेका छन् । 

‘अब कि बार गगन सरकार’ भन्ने नारा अहिले कांग्रेसको मूल चुनावी नारा जस्तै बनेको छ ।  

मोरङ–५ का कांग्रेस उम्मेदवार फुलकुमार लालबानीले आफ्ना प्रचार सामग्रीमा गगनको तस्वीर प्रमुख रूपमा राखेका छन् । 

पोस्टरमा ‘बदलियौं कांग्रेस, बदल्छौं देश’ नारा अंकित गरेका छन् । उनी हरेक चुनावी सभामा आगामी प्रधानमन्त्री गगन भन्दै भोट मागिरहेका  छन् । उनको नारा ‘अबकीबार गगन सरकार’ साथमा फुलकुमार छ । 

पहिल्यैदेखि गगन–विश्व लाइनमा उभिएका लालबानी मात्रै होइन, विशेष महाधिवेशनमा झापाबाट काठमाडौं पुगेका प्रतिनिधिलाई रोक्न जोडबल लगाएका केशवराज पाण्डेले समेत आफ्नो प्रचार सामग्रीमा गगन–विश्वको तस्वीर प्रयोग गरेका छन् । झापा–१ बाट उम्मेदवार बनेका पाण्डे खुलेरै गगनलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै मत मागिरहेका छन् ।

शेरबहादुर देउवाका विश्वासपात्र मानिने विजय गच्छदारदेखि शेखरका त्यस्तै खास सहयोगी डा. मिनेन्द्र रिजालले समेत कांग्रेस बदलिएको भन्दै मत मागिरहेका छन् । 

शेखरले भने कांग्रेसमा आएको परिवर्तनलाई देखेको नदेख्यै जस्तो गरिरहेको उनका अभिव्यक्तिले देखाउँछ ।

त्यसो त कोइरालाले गगनलाई प्रधानमन्त्री पदमा अघि सार्ने पार्टी केन्द्रको निर्णयमा यसअघि नै असन्तुष्टि जनाइसकेका छन् । 

संसदीय दलको नेता नै भावी प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएर खुला रुपमा पार्टी केन्द्रको निर्णयमा असन्तुष्टि जनाएका उनले आफ्नै नेतृत्वमा नयाँ स्थिर सरकार बनाउने घोषणा सचिवालयमार्फत गरेका थिए । 

आलोचना भएपछि त्यस्तो प्रचार सामग्री उनको सचिवालयले सामाजिक सञ्जालबाट हटाएको थियो ।

पार्टीको १४ औं महाधिवेशनपछिको राजनीतिक उतारचढावले बिग्रेको गगन–शेखर सम्बन्ध अझै सुमधुर हुन नसकेको प्रमाण बनेर यी घटनाक्रम अगाडि आएका छन् । १४ औं महाधिवेशनमा शेखर र गगन एउटै धारमा उभिएका थिए । 

सभापतिमा देउवासँग पराजित भएपछि शेखर संस्थापनइतर समूहका अगुवा बनेका थिए । नेतृत्व परिवर्तन र समयमै महाधिवेशनको माग गर्दै आएका उनले पछि विशेष महाधिवेशनको पक्षमा चर्को आवाज उठाएका थिए ।

तर, विशेष महाधिवेशन नजिकिंदै गर्दा उनले देउवा पक्षलाई साथ दिएका थिए । विशेष महाधिवेशन सम्पन्न हुँदै गर्दा त्यसलाई अवैध भन्दै देउवा समूहसँगै निर्वाचन आयोग पुगेका शेखरको राजनीतिक बाटो त्यसपछि मोडिएको थियो । 

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत पुगेको थियो, तर शेखर पक्ष अन्योलमा परेको थियो । अन्ततः उनले मध्यमार्ग रोज्दै नयाँ नेतृत्व स्वीकार गरेका थिए । 

यही स्वीकारोक्तिको संकेत उनले माघ ६ गते देखाएका थिए, जब गगनकै हस्ताक्षर भएको टिकट लिएर मोरङ–६ बाट उम्मेदवारी दर्ता गरेका थिए । तर, त्यसपछिका गतिविधिले पुनः सन्देह जन्माएको भन्दै अहिलेको संस्थापन पक्ष सन्तुष्ट सुनिएको छैन । 

थापा पार्टी सभापति बनेपछि साता अघि पहिलो पटक विराटनगर आएका थिए । कोशी प्रदेशस्तरीय चुनावी भेलामा उनी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । 

कार्यक्रम विराटनगरको बरगाछीस्थित कञ्चनजंघा ब्यांक्वेटमा आयोजना गरिएको थियो । केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको उक्त भेलामा  डा. शेखर र गगन एउटै मञ्चमा देखिएका मात्रै थिएनन्, शेखरले पार्टीभित्र कुनै समस्या नभएको घोषणा गरेका थिए । 

उनले  सभापति गगन थापालाई बधाई चाहिँ दिएका थिए । तर, त्यसयता कोइरालाले आफ्ना कुनै पनि चुनावी सभा वा कार्यक्रममा पार्टीभित्रको रुपान्तरण बारे बोलेका छैनन् । ‘उहाँले आफ्ना एजेन्डा राखिरहनु भएको छ ।’ कांग्रेसका एक नेताले भने, ‘उहाँले पार्टीकै एजेन्डा राख्ने हो ।’

शेखरको चुनावी अभियानमा बदलिएको कांग्रेस र भावी प्रधानमन्त्रीको मुद्दा किन ओझेल परेको हो भन्नेबारे  उनले सार्वजनिक रुपमा केही बताएका छैनन् । 

यसपटक मोरङ–६ मा उनलाई एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय र रास्वपाकी रूविना आचार्यसहितका उम्मेदवारले चुनौती दिएका छन् ।  

कांग्रेसभित्र बदलिंदो शक्ति सन्तुलन, कोइराला परिवारको राजनीतिक विरासत जोगाउने दबाब र नयाँ प्रतिस्पर्धीहरुको आगमनले शेखरलाई थप दबाबमा पारेको बेला छ ।

उम्मेदवारीको टिकटमा हस्ताक्षर स्वीकार गरे पनि के शेखरले मनबाट गगनलाई प्रधानमन्त्रीको उम्मेदवार नमानेका हुन् कि चुनावी मैदानमा आफ्नो अलग पहिचान जोगाउने रणनीति अपनाएका हुन् ? चुनाव नजिक आउँदै गर्दा यो प्रश्नले शेखरलाई पछ्याइरहेको छ ।

View : 202

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved