Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय

उद्‌घोष संवाददाता
१३ फागुन २०८२, बुधवार

विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो ।

कार्यालयको उदघाटन महानगरका मेयर नागेश कोइरालाले एक समारोहबीच गरेका हुन् । विराटनगर–३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

उदघाटन समारोहमा बोल्दै मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संस्थागत विकास महानगरको प्राथमिकतामा रहेको बताए । 

उनले विराटनगरभित्र रहेका विविध भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानमार्फत योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए ।

वडा नं. ३ का अध्यक्ष बासुबहादुर बस्नेतले आफ्नो वडा कार्यालयमै प्रतिष्ठानको कार्यालय स्थापना हुनु गौरवको विषय भएको बताए । 

उनले भौतिक पूर्वाधार मात्र विकासको सूचक नभएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनले नै समग्र विकास सुनिश्चित गर्ने धारणा राखे ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले कार्यालय व्यवस्थापनमा सहयोग गरेकोमा महानगरप्रति आभार व्यक्त गरे । 

प्रतिष्ठानका सदस्यसचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) ले निकट भविष्यमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । 

महानगरको पहलमा गठन गरिएको प्रतिष्ठानले सांस्कृतिक क्षेत्रलाई संस्थागत ढंगले अघि बढाउने लक्ष्य राखेको छ । 

आफ्नै कार्यालयबाट सेवा सुरु भएसँगै प्रतिष्ठानका गतिविधि थप सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

View : 57

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved