भोजपुर, २७ भदौ । जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ ।
समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो ।
गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात् आधिकारिक रुपमा प्रशिक्षक नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।
पालिकाको गरिमा बढाउँदै राष्ट्रका लागि असल र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ खेल क्षेत्रको विकासमा जुटेको उनले बताए ।
“अन्य क्षेत्रको योजनाबद्ध विकाससँगै समग्र खेल क्षेत्रको विकासमा पनि पालिका योजनाबद्ध रुपमा जुटेको छ”, अध्यक्ष राईले भने, “हामीले ऐन बनाएर खेलकुद समिति गठन गरेका छौँ । दक्ष र व्यावसायिक खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”
उनका अनुसार दीपक आलेलाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो । यहाँका नौ स्थानीय तहमध्ये यसरी ऐन बनाई खेलकुद विकास समिति गठन गरेर प्रशिक्षक नियुक्त गर्ने पौवादुङमा गाउँपालिका पहिलो स्थानीय तह बनेको छ । रासस
View : 102
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved